संगठन बलियो बनाउन अब ब्रिटिस आर्मीमा नेपाली महिला

रिपोर्ट नेपाल | 2018 Jul 18 | 07:19 am 3957

लन्डन, श्रावण २: दुई सय वर्षभन्दा बढी समयदेखि ब्रिटिस सेनाको अभिन्न अंग रहेको ‘ब्रिगेड अफ गोर्खाज’ मा पहिलोपटक नेपाली महिलालाई समेत भर्ती गरिने भएको छ। सन् २०२० को वसन्त ऋतुसम्म नेपाली महिलालाई ब्रिटिस सेनामा अवसर प्रदान गर्न लागिएको हो ।

लडाइँमा प्रत्यक्ष उत्रन पाउने गरी नेपाली महिलालाई भर्ती लिन आवेदन खोल्न लागिएको बेलायती अखबारहरूले जनाएका छन्।

आगामी वर्षदेखि आवेदन खुला हुने र महिलाले कठोर छनोट प्रक्रिया पार गरे सन् २०२० सम्म बेलायतमा इन्फेन्ट्री तालिमका लागि आउन सक्ने अपेक्षा गरिएको छ। सन्डे टाइम्स समाचारपत्रका अनुसार अहिले ब्रिगेड अफ गोर्खाजमा ३ हजार गोर्खा सैनिक कार्यरत छन्। महिला भर्तीपछि यो संख्या ३ हजार ८ सय पुग्ने अनुमान छ।

पोखरामा गरिने भर्ना प्रक्रिया सहज भने छैन। शारीरिक बनावट आकर्षकमात्र होइन, आवेदन दिएका महिलाले २५ केजी बालुवा डोकोमा बोकेर झन्डै पाँच किलोमिटर उकालो दौडिनुपर्छ। अन्य कठिन अभ्यास पनि छन्। पोखरामा छानिएर आइसकेपछि बेलायतको नर्थ योर्कसायरस्थित क्याट्रिकमा १० साताको प्रशिक्षण पार गरेपछि मात्र योग्य हुने प्रावधान छ।

ब्रिगेड अफ गोर्खाजमा सैनिक संख्या न्यून हुँदै जाँदा उक्त संगठन बलियो बनाउन महिलालाई पनि भर्ना लिने निष्कर्षमा बेलायत सरकार पुगेको बताइएको छ। सन् १८१५ मा ब्रिटिस इस्ट इन्डिया कम्पनी र नेपालबीच भएको सम्झौताअनुसार नेपाली पनि ब्रिटिस सेनामा भर्ना हुन थालेका हुन्।

गोर्खाहरूप्रति बेलायती राजपरिवारको विशेष भरोसा छ। बेलायती राजकुमार ह्यारीले दि गोर्खा राइफल्स फस्ट बटालियनका साथ सन् २००७ देखि २००८ सम्म अफगानिस्तानमा काम गरेका थिए। त्यसपछि ह्यारीले भन्दै आएका छन्, ‘जब तपाईंलाई गोर्खाहरूसँग छु भन्ने थाहा हुन्छ, त्यहाँजस्तो सुरक्षित ठाउँ अन्यत्र कहीं हुन्न।’

बेलायती रक्षामन्त्री गेभिन विलियमसनले बेलायती महारानीको रक्षार्थ लामो समयदेखि खटिएका गोर्खाहरू विश्वमै उत्कृष्ट लडाकु दस्ता भएको बताउँदै यस्तो विशिष्ट समूहमा महिलालाई उचित अवसर भएको बताएका छन्।

महिला भर्तीबारे नेपाल सरकारलाई भने औपचारिक जानकारी आइनसकेको लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरणले बताए।

भूतपूर्व गोर्खा अभियन्ता ज्ञानराज राई ब्रिगेड अफ गोर्खाजमा महिलालाई समेत लिने कुरा आउनु खुसीको कुरा भएको बताउँछन्। ‘गोर्खाहरूको रगत, आँसु र पसिनाको इतिहासलाई जीवन्त राख्न पनि गोर्खा भर्ती निरन्तर गर्नुपर्छ,’ राई भन्छन्, ‘तर, बेलायत सरकारले भूतपूर्व गोर्खाहरूलाई वर्षौंदेखि शोषण, अन्याय र भेदभाव गरेकाले त्यसको क्षतिपूर्तिसहित क्षमा माग्नुपर्छ अनि मात्र उसलाई नेपाली महिला लिन नैतिक धरातल बन्छ।’

नेपालका हजारौं युवा ब्रिटिस सेनामा आउन दुई–तीन वर्ष पढाइ छाडेर कठोर परिश्रममा लागे पनि भर्ना वार्षिक अढाई सय हाराहारीमात्र हुने हुँदा धेरैको भविष्य झन् बिग्रिएको राईको तर्क छ।

‘नेपाल र आदिवासी पछि पर्नुको कारण गोर्खा भर्ती नै हो,’ उनको आक्षेप छ, ‘बेलायतले नेपालमा साम्प्रदायिक सद्भाव पनि खलल पारिदिएको छ।’ ब्रिटिस महिला सैनिकलाई पनि अग्रपंक्ति (कम्ब्याट रोल) मै लड्न अनुमति दिइएको छ। ब्रिटेनको रोयल एयर फोर्स (आरएएफ) रेजिमेन्टमा महिला सैनिकहरूले पहिलोपटक नजिकबाटै स्थलगत लडाइँ गर्न अनुमति पाएको खबर कान्तिपुर दैनिकमा छ।

तत्कालीन प्रधानमन्त्री डेभिड क्यामरुनको कार्यकाल गत जुलाई २०१६ मा महिलाहरूलाई लडाइँमा जान लगाइएको रोक फुकुवा गरिएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.