तीन दिनमा काठमाडौं भित्रिए ८८ हजारभन्दा बढी एलपी ग्यास सिलिन्डर

रिपोर्ट नेपाल | 2026 Sep 06 | 02:49 pm 89

काठमाडौं, भदौ २१। पृथ्वी राजमार्गको धादिङस्थित कृष्णभिर क्षेत्रमा पहिरोका कारण सडक अवरुद्ध भए पनि काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति प्रभावित हुन नदिइएको नेपाल आयल निगमले जनाएको छ।

निगमका अनुसार वैकल्पिक सडक प्रयोग गरी पछिल्लो तीन दिनमा उपत्यकामा ८७ हजार ८ सय ७७ वटा ग्यास सिलिन्डर ल्याइएको छ। सडक अवरोधका कारण नियमित आपूर्तिमा समस्या आउन सक्ने अवस्थालाई ध्यानमा राख्दै तराई क्षेत्रका उद्योगबाट ग्यास रिफिल गराएर वैकल्पिक बाटोबाट काठमाडौं पठाउने व्यवस्था गरिएको निगमको भनाइ छ।

उपलब्ध विवरणअनुसार भदौ १८ गते २४ हजार ४ सय ९४, १९ गते ३४ हजार १ सय ३४ र २० गते २९ हजार २ सय ४९ सिलिन्डर उपत्यका भित्रिएका छन्।

निगमले काठमाडौं, धादिङ र काभ्रेपलाञ्चोकमा रहेका ग्यास उद्योगका सिलिन्डरलाई तत्कालका लागि बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरीका उद्योगमा रिफिल गर्ने व्यवस्था मिलाएको छ। रिफिल गरिएका सिलिन्डर वैकल्पिक सडक हुँदै काठमाडौं ल्याइँदै छन्।

वैकल्पिक बाटोबाट उपत्यका ल्याइएका ग्यासमा श्री, सूर्य, ओम, श्रीराम, सगर, साईबाबा/श्रीकृष्ण, श्रीमाया (काभ्सन्स), लोकप्रिय (उग्रचण्डी), एभरेस्ट/सुगम, नेपाल, एचपी (हिमालयन), एसटीसी (मेट्रो काठमाडौं), सिद्धार्थ, हिमाल (गौरीशंकर), सीताश्री र नमस्ते लगायतका ब्रान्ड रहेका छन्।

निगमका अनुसार १६ वटा उद्योगसँग सम्बन्धित ग्यास यही वैकल्पिक व्यवस्थामार्फत उपत्यकामा निरन्तर ल्याउने काम भइरहेको छ।

कृष्णभिर खण्डमा सडक नियमित रूपमा सञ्चालनमा नआएसम्म वैकल्पिक मार्ग प्रयोग गरेर ग्यासको आपूर्ति तथा वितरणलाई निरन्तरता दिइने निगमले जनाएको छ। निगमले हालको व्यवस्थाका कारण उपत्यकामा एलपी ग्यासको अभाव नहुने दाबी गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.