रसुवामा बाढीपछि सुरुङमा फसेका ३५० मजदुरसहित ८८३ जनाको उद्धार

रिपोर्ट नेपाल | 2026 Aug 28 | 07:27 am 105

काठमाडौं, भदौ १२। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङभित्र फसेका ३५० मजदुर तथा स्थानीयको नेपाली सेनाले सकुशल उद्धार गरेको छ।

प्रतिकूल मौसम र बाढीको तीव्र बहावका बीच अत्यन्त जोखिमपूर्ण अवस्थामा नेपाली सेनाले उद्धार अभियान सञ्चालन गरेको जनाएको छ। सेनाका अनुसार सुरुङभित्र अझै १०० भन्दा बढी व्यक्ति फसेका छन्, उनीहरूलाई पनि सुरक्षित रूपमा बाहिर निकाल्ने प्रयास जारी छ।

सुरुङभित्रको जटिल उद्धार कार्यका लागि ‘नम्बर १ सेकेन्ड मुभमेन्ट ट्याक्टिकल हेडक्वार्टर (त्रिशूली)’ बाट जमदार भक्तजन बस्नेतको कमाण्डमा सैन्य टोली निरन्तर परिचालित रहेको छ।

यस्तै, बाढीको उच्च जोखिममा रहेका रसुवाका अन्य विकट क्षेत्रमा समेत नेपाली सेनाले उद्धार कार्यलाई तीव्रता दिएको छ। सिक्युआरटी धुन्चे ब्यारेकबाट सहसेनानी अभिषेक शाहीको नेतृत्वमा खटिएको टोलीले स्याफ्रुबेँसी, टिमुरे, मैलुङ्ग, ठूलो हाकु र हाकुबेँसीलगायत विभिन्न स्थानबाट थप ५३३ जना नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ।

नेपाली सेनाका अनुसार बिहीबार अबेरसम्म रसुवाका विभिन्न बाढी प्रभावित क्षेत्रबाट मजदुर तथा स्थानीय गरी कुल ८८३ जनाको उद्धार गरिएको छ। सेनाले उद्धार अभियानमार्फत ठूलो मानवीय क्षति हुनबाट जोगाउन सफल भएको जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.