गुल्मी–२ मा कांग्रेस महाधिवेशन प्रतिनिधिका कान्छा उम्मेदवार भण्डारी

रिपोर्ट नेपाल | 2026 Sep 25 | 02:46 pm 789

तम्घास, ९ असोज। नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि युवा नेता ओमप्रसाद भण्डारी (अमृत) ले महाधिवेशन प्रतिनिधि (युवा खुला, ३५ वर्षमुनि) पदमा उम्मेदवारी दिएका छन्। भण्डारी चर्चामा रहेको जेन्जी पुस्ताका युवा उम्मेदवारका रूपमा चुनावी मैदानमा आएका छन्।

नेपाल विद्यार्थी संघ हुँदै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भण्डारीले आफ्नो संगठनात्मक अनुभव, युवा परिचालनमा निर्वाह गरेको भूमिका र पार्टीप्रतिको प्रतिबद्धतालाई उम्मेदवारीको मुख्य आधार बनाएका छन्।

विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका भण्डारीले नेपाल विद्यार्थी संघको जिल्ला कार्यसमिति सदस्य तथा बुटवल बहुमुखी क्याम्पस नेविसंघ कार्यसमिति सदस्य र सचिवको जिम्मेवारी सम्हालिसकेका छन्।

भण्डारीका अनुसार उनले २०७४, २०७९ र २०८२ सालका निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउन विभिन्न भूमिकामा रहेर सक्रिय योगदान दिएका छन्। विशेषगरी २०७९ सालको स्थानीय तह निर्वाचनमा युवा परिचालनको जिम्मेवारी सम्हाल्दै पार्टीको चुनावी अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाइ छ।

युवाको अर्थपूर्ण सहभागिता बढाउँदै कांग्रेसको संगठनलाई थप सुदृढ, गतिशील र जनमुखी बनाउने उद्देश्यसहित आफू महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेको भण्डारीले बताएका छन्।

“अनुभवलाई जिम्मेवारीमा, युवाको ऊर्जालाई परिवर्तनमा र विचारलाई व्यवहारमा रूपान्तरण गर्ने” संकल्पसहित आफू अघि बढेको भण्डारीको भनाइ छ।

नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन २०८३ असोज १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.