आज हरितालिका तिज पर्व शिव–पार्वतीको आराधना गरी मनाइँदै

रिपोर्ट नेपाल | 2026 Sep 14 | 09:31 am 205

काठमाडौं, भदौ २९। भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज देशभर भगवान् महादेव तथा माता पार्वतीको पूजा–आराधना गर्दै मनाइँदैछ। यस अवसरमा महिलाहरूले व्रत बसी शिव–पार्वतीको उपासना गर्ने परम्परा छ। धार्मिक विश्वासअनुसार तिजको व्रतले परिवारमा सुख, शान्ति र समृद्धि प्राप्त हुने तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ।

हरितालिका तिजसँग जोडिएको पौराणिक कथाअनुसार सत्ययुगमा हिमालयकी छोरी पार्वतीले महादेवलाई पति रूपमा प्राप्त गर्न कठोर तपस्या गरेकी थिइन्। पार्वतीका पिता हिमालयले उनको इच्छाविपरीत भगवान् विष्णुसँग विवाह गराउने तयारी गरेपछि उनले आफ्ना साथीहरूसँग आफ्नो समस्या राखेकी थिइन्। त्यसपछि साथीहरूले पार्वतीलाई सुरक्षित तथा गोप्य स्थानमा लगेर राखेका थिए।

त्यही स्थानमा पार्वतीले निराहार व्रत र तपस्या गर्दै महादेवलाई प्रसन्न पारेको र अन्ततः उनलाई पति रूपमा प्राप्त गरेको धार्मिक मान्यता छ। पार्वतीलाई साथीहरूले हरण गरी लुकाएको दिन भाद्र शुक्ल तृतीया भएकाले यसै दिनदेखि हरितालिका तिजको व्रत बस्ने परम्परा सुरु भएको धर्मशास्त्रीय विश्वास रहँदै आएको छ।

‘हरितालिका’ शब्द संस्कृतका ‘हरित’ र ‘आलिका’ शब्दबाट बनेको मानिन्छ। ‘हरित’ले हरण गरिएको र ‘आलिका’ले साथी भन्ने अर्थ जनाउने भएकाले पार्वतीको उक्त कथासँग यसको नाम जोडिएको धार्मिक व्याख्या पाइन्छ।

तिजका दिन व्रत बस्दा मनोकामना पूरा हुने विश्वास भए पनि सबै महिलाले अनिवार्य रूपमा निराहार बस्नुपर्ने नरहेको धर्मशास्त्रविद्हरू बताउँछन्। व्रतलाई निराहार, जलाहार र फलाहार गरी तीन प्रकारमा लिने गरिन्छ। आफ्नो स्वास्थ्य र क्षमताअनुसार निराहार बस्न सक्नेले निराहार, नसक्नेले जलाहार तथा जलाहार पनि सम्भव नभए फलाहार गर्न सकिने धार्मिक मान्यता छ।

महिलाले परिवारको सुख, शान्ति र कल्याणको कामना गर्दै व्रत बस्ने परम्परा भए पनि विभिन्न कारणले महिलाले व्रत बस्न नसक्ने अवस्थामा पुरुषहरूले समेत व्रत लिने गरेको पाइन्छ। विशेषगरी रजस्वला भएका वा अन्य कारणले व्रत बस्न नसक्ने अवस्थामा परिवारका पुरुष सदस्यले व्रत लिने चलनसमेत रहेको बताइन्छ।

धर्मशास्त्रविद्हरूका अनुसार तिजको व्रत व्यक्तिगत मनोकामना पूरा गर्ने उद्देश्यमा मात्र सीमित नभई परिवारको समग्र कल्याण, सुख–शान्ति र आध्यात्मिक हितसँग सम्बन्धित छ। यस व्रतको महत्त्व यस लोकमा पारिवारिक सुख–शान्ति तथा पारलौकिक सद्गतिको कामनासँग समेत जोडिएको छ।

धर्मशास्त्रीय मान्यताअनुसार व्रतलाई सकाम, निष्काम, नित्य, नैमित्तिक र काम्य गरी पाँच प्रकारमा वर्गीकरण गरिएको छ। तिजको व्रत नित्य र काम्य दुवै स्वरूपको मानिन्छ। धार्मिक ग्रन्थहरूमा यसको उद्देश्य मानव कल्याणसँग समेत जोडिएकाले तिजको व्रत कुनै एक वर्गमा मात्र सीमित नभएको उल्लेख गरिएको पाइन्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.