भारतका पूर्वप्रधानमन्त्री बाजपेयीको निधन

रिपोर्ट नेपाल | 2018 Aug 16 | 07:34 pm 1985

काठमाडौं, साउन ३१ :  भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी बाजपेयीको ९३ वर्षको उमेरमा निधन भएको छ। दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।

अखिल भारतीय आयुर्विज्ञान संस्था (एम्स्)ले एक विज्ञप्ति जारी गर्दै बिहीबार साँझ ५ बजे ५ मिनेट जाँदा उनको निधन भएको जनाएको छ ।उनको दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार भइरहेको थियो। स्वास्थ्यस्थिति बिग्रिएपछि उनलाई जीवनरक्षा प्रणालीमा राखिएको थियो।

मधुमेहका बिरामी वाजपेयी गत जुन ११ तारिखदेखि अस्पतालमा भर्ना भएका थिए। उनमा मिर्गौलाको सङ्क्रमण लगायत विभिन्न स्वास्थ्य समस्या देखिएको थियो।

भारतीय जनता पार्टीमा स्थापना कालदेखि नै संलग्न वाजपेयी विभिन्न समयमा तीन पटक गरी छ वर्ष भारतको कार्यकारी प्रमुख बनेका थिए।

वाजपेयीको स्वास्थ्य अवस्था निरन्तर खस्किएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी तथा विपक्षी दलका नेता राहुल गान्धी उनलाई भेट्न अस्पताल गएका थिए। उनलाई देशको सबैभन्दा ठूलो नागरिक सम्मान ‘भारत रत्न’बाट पनि सम्मानित गरिसकिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.