भरिएको २५ महिनासम्म पनि सिसडोल ल्यान्डफिल छाडियो खुलै

| 2023 Dec 10 | 08:35 am 985

काठमाण्डौ, मंसिर २४ । उपत्यकाको फोहोर नुवाकोटको बन्चरेडाँडामा व्यवस्थापन गर्न थालिएको २५ महिना बितिसक्दा पनि यसअघि फोहोर व्यवस्थापन गरिँदै आएको सिसडोल ल्यान्डफिल साइट अझै खुलै छाडिएको छ । काठमाडौं महानगरले बन्चरेडाँडा ल्यान्डफिलमा फोहोर व्यवस्थापन गर्न थालेसँगै सिसडोलवासीसँग ६ महिनाभित्रै सिसडोल पोस्ट क्लोजिङ (पुर्ने) गर्ने सहमति गरेको थियो । तर, सहमतिको भाखा नागेको १९ महिना बितिसक्दा पनि पोस्ट क्लोजिङको सुरसार नै छैन ।

रविनमान श्रेष्ठ, प्रमुख, वातावरण विभाग, काठमाडौं महानगरपालिका

सिसडोलमा रिकास्टले अध्ययन गरिरहेको छ । अध्ययन प्रतिवदेन लगभग तयार हुन लागेको जानकारी पाएका छौँ । उहाँहरूको अध्ययन प्रतिवेदन प्राप्त भएपछि सोहीअनुसार आगाडि बढ्छौँ । हामी पनि यतिकै बसेका छैनौँ । हाम्रो आफ्नै टोलीले सिसडोलबारे अध्ययन गरिरहेको छ । सबै अध्ययन प्रतिवेदन प्राप्त भएपछि थप काम गर्छौँ ।

सिसडोल ल्यान्डफिल साइट बेवारिसे छाडेको भन्दै स्थानीयले पटक–पटक आन्दोलन गरेपछि महानगरले २६ जेठ ०७९ मा ६ महिनाभित्र पोस्ट क्लोजिङको वैज्ञानिक अध्ययन गराई प्रतिवेदनका काम गर्ने सहमति गरेको थियो । तर, सहमति भएपछि पनि १९ महिना बित्दासमेत पोस्ट क्लोजिङको सुरुसार छैन । साथै, महानगरले गर्ने भनेको अध्ययन प्रतिवेदनसमेत तयार भएको  छैन ।

महानगरका अनुसार सिसडोल पोस्ट क्लोजिङबारे रिसर्च सेन्टर फर एप्लाइड साइन्स एन्ड टेक्नोलोजी (रिकास्ट)ले अध्ययन गरिरहेको छ । रिकास्टको अध्ययन प्रतिवेदन यसै महिनाभित्र आउने र सोहीअनुसार काम अगाडि बढाउने महानगरले जनाएको छ । ‘सिसडोलमा रिकास्टले अध्ययन गरिरहेको छ । अध्ययन प्रतिवदेन लगभग तयार हुन लागेको जानकारी पाएका छौँ । उहाँहरूको अध्ययन प्रतिवेदन प्राप्त भएपछि सोहीअनुसार अगाडि बढ्छौँ,’ महानगरअन्तर्गत वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठले भने, ‘हामी पनि यतिकै बसेका छैनौँ । हाम्रो आफ्नै टोलीले पनि सिसडोलबारे अध्ययन गरिरहेको छ । यी सबै अध्ययन प्रतिवेदन प्राप्त भएपछि थप काम गर्छौँ ।’ उनका अनुसार सिसडोलबारे नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले यसअघि गरेको अध्ययन प्रतिवेदनसँग दाँज्ने काम पनि हुनेछ । श्रेष्ठका अनुसार पोस्ट क्लोजअन्तर्गत त्यहाँ पार्क बनाउने वा कम्पोस्टिङ गर्नेबारे छलफल भइरहेको छ ।त्यसको निक्र्योल हुनेबित्तिकै टेन्डर आह्वान गर्ने र काम अगाडि बढाउनेछौँ ।

महानगरले आर्थिक वर्ष ०७९/८० को बजेटमा सिसडोल ल्यान्डफिल साइट ‘पोेस्ट क्लोजर’ तथा ‘लिच्चड ट्रिटमेन्ट प्लान्ट’ तथा पार्क निर्माणका लागि चार करोड रुपैयाँ विनियोजन गरेको थियो । गत वर्ष जेठमा स्थानीयले फोहोर रोकेपछि महानगरले स्थानीय जनप्रतिनिधिको टोलीसँग १८ बुँदे सम्झौता गरेको थियो । सम्झौतापछि फोहोर व्यवस्थापन गर्ने भनेर बजेट व्यवस्थासमेत गरेको थियो । तर, फोहोरमैला व्यवस्थापनमा महानगरले प्राथमिकताका साथ काम नगरेको सरोकारवालाको आरोप छ ।

बन्चरेडाँडा ल्यान्डफिलको अध्ययनमा समेत ढिलाइ

सिसडोलमा रिकास्टको अध्ययन सुरु भएसँगै नयाँ ल्यान्डफिल साइट बन्चरेडाँडामा पनि नास्टले अध्ययन थालेको थियो । तर, नास्टले उक्त अध्ययन प्रतिवेदनसमेत अझै तयार हुन सकेको छैन । नास्टका वरिष्ठ वैज्ञानिक डा. भोजराज पन्तका अनुसार चार महिनाको अध्ययन लगभग सकिएको छ । यही महिनाको अन्त्यसम्म रिपोर्ट सार्वजनिक गर्ने गरी काम गरिरहेका छौँ । ‘फिल्डको अध्ययन सकेका छौँ । ल्याब टेस्टलगायतका केही काम बाँकी छन् । ती काम सकेर यो महिनाको अन्तिमसम्म रिपोर्ट सार्वजनिक गर्न सक्छौँ,’ डा. पन्तले भने । नास्टले ल्याबको मेसिन बिग्रिएको भन्दै अध्ययन ढिलो भएको जनाएको छ । महानगरका अनुसार बन्चरेडाँडाको अध्ययन प्रतिवेदनपश्चात् त्यस क्षेत्रमा फोहोरको वातावरणीयलगायतको प्रभाग विश्लेषण हुनेछ । १९ महिनादेखि सिसडोलमा व्यवस्थापन हुँदै आएको फोहोर हाल बन्चरेडाँडामा व्यवस्थापन हुँदै आएको छ । उपत्यकाका १७ स्थानीय तहको दैनिक करिब १० देखि १२ टन फोहोर तीन वर्षका लागि भन्दै १८ वर्षसम्म सिसडोलमा व्यवस्थापन गरिएको थियो ।

सहमतिअनुसार महानगरले काम नगरेको स्थानीयको आरोप
महानगरले काम गरिरहेको दाबी गर्दै आए पनि बन्चरेडाँडा संघर्ष समितिले भने सहमतिअनुसार काम नगरेको आरोप लगाएको छ । समितिका संयोजक श्रीराम ढुंगानाका अनुसार सहमति पालना गराउन भन्दै स्थानीय सम्बन्धित निकायमा धाउन छाडेका छैनन् । ‘सहरी विकास मन्त्रालयले वातावरणीय प्रभाव मूल्यांकन (इआइए)का लागि काम थाल्ने भने पनि अझै सुरु हुन सकेको छैन । यसका लागि मन्त्रालय धाएको धायै छु,’ ढुंगानाले भने, ‘महानगरले गरेको सहमतिमाथि त झन् केही काम भएको छैन ।’ उनका अनुसार बन्चरेडाँडा जाने गाडीले फोहोर खसाल्न छाडेको छैन । दुर्गन्ध आउन छाडेको छैन । कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र व्यवस्थापनका लागि लैजाने भने पनि हुन सकेको छैन ।

६ महिनाका लागि भनेर सिसडोल ल्यन्डफिल साइटमा उपत्यकाको फोहोर व्यवस्थापन गर्न थालिएको थियो । तर, यहाँ १८ वर्षसम्म फोहोर फालिएको थियो । १८ वर्षसम्म फोहोर फालिएको स्थान नपुरी खुलै छाड्नाले स्थानीयवासी दुर्गन्धको सिकार बनिरहेका छन् । उनीहरूमा विभिन्न प्रकारको दीर्घरोगसमेत देखिएको संघर्ष समितिको भनाइ छ ।

( नयाँपत्रिकाबाट )

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.