फेरी अनशन ! तस्का बाजे !!

रिपोर्ट नेपाल | 2018 Aug 27 | 04:37 pm 2225

एकाबिहानै रत्नपार्कतिर लखरलखर हिँडिरहेको वीरमानेको हात च्याप्प समातें । उसले आश्चर्यका साथ सोध्यो आहो भजमने काका ! किन के भो र हात समात्नुभको ?
तेस्का बाजे ! अनि यो बिहान बिहानै काम नपाएर कता जान हिँडिस् त बजिया ? काका पनि कुरै नबुझी प्वाक्क बोल्नुहुन्छ भन्या ! के कसो हो, पहिला कुरा त बझ्नु न । अनि पो भन्ने नि ! ल भन् त कुरा के हो । तँलाई यो झिसमिसेमै रत्नपार्कतिर झर्नुपर्ने के काम आइपर्यो ? ल काकालाई केहि पनि थाहा छैन ? मुलुकमा कत्रो वितण्डा मच्चिसक्यो ।

कत्राकत्रा उथुलपुथुल, हुने हुनामी भइसक्यो । तपाईलाई केहि थाहा छैन हकि ! हत्तेरीका काका तपाई त रेडियो, टिभी केहि सुन्नु हेर्नु हुन्न कि के हो ? तेस्का बाजे ! तेरा रेडियो, टिभीले जहिले पनि के फलाक्छन् तँलाई थाहा छैन र ? तेरा यत्राविधि बग्रेल्ती अखबारले के लेख्छन् भनिरनुपर्छ ? मलाई के थाहा हुन्छ त नि ! काका पनि त्यसै जंगिनुहुन्छ भन्या ! तेस्का बाजे ! अनि भन् न त खाटी कुरा के हो ।

नभनी कसरी थाहा हुन्छ त ? हेर्नुस् काका, म त अनशनमा जान लाको । हैन के भन्छ यो ? फेरि कसको अनशन हो गोविन्ने बाउको अनशन त टुंगियो हैन र भन्या ! उल्ले जे जे भन्यो त्यै त्यै पूरा गर्दिए रे भन्ने सुनेको थिएँ ।

अनि फेरि ऐले कसको अनशन हो ? ल काका पनि ! एउटा अनशनले यत्रो पार्टीको उद्देश्य पूरा हुन्छ र ? तेस्का बाजे ! अब उद्देश्य पूरा हुनुपर्यो त बजिया ? अनि ऐले कसको पर्यो त हँ ? ल तपाईलाई थाहा छैन र काका ! पाँच दिनअघि सिनेमा हालबाट पाकेट मारे भनेर एउटाले सय र अर्काले एक सय पच्चिस र तेस्राले त जम्मा पचहत्तर हात पारेछन् ।

अनि पुलिसले समातेछ । तेस्का बाजे ! तेरा पार्टीमा चुल्ठे, मुन्द्रे, झ्यापुल्ले, कराँते, हिप्पी, तालुखुइले, ट्यापे, ड्रगिस्ट मात्र छन् अनि समात्दैनने त ? अनि पाकेटमारालाई समात्यो त, तिमिहरुलाई किन टाउको दुख्ने ? जसले जे गर्यो पुलिसले हेरिबस्छ त ? ल समात्यो रे ! दुई चार दिनमा छोडिदिहाल्छन् नि ? काका पनि ! कहाँ छोड्न मान्यो त नि ? पार्टी कार्यकर्ताहरुले चौकी घेराउ गर्दा पनि छाड्न मानेन् ।

हाकिमलाई गुहार गर्दा पनि दुई तिहाईको सरकाले कस्तालाई त छाडेन यस्ता पाकेटमारालाई छाड्छ ? भनेर उल्टै जवाफ पठायो । कुरो पार्टी सभापतिसम्म पुग्यो । तिनलाई छोडाउन सभापतिले उपसभाापतिलाई चौकी पठायो । तै पनि छाडेनन् ।

गृहमन्त्रीलाई फोन गर्दा पनि टेरेनन् । गृहमन्त्री भन्दा माथि, अझ त्यो भन्दा पनि माथि फोन गर्दा पनि छाड्न मानेन । तेस्का बाजे ! जाबो पाकेटलाई त्यत्रो सोर्स फोर्स लगाउँदा पनि छाडेनछन् भन्या ? हैन काका तिनले अनि नचाहिदो काम पनि गरेछन् ।

पाकेट मात्र मारेत हुन्थ्यो अर्थोक पनि मारेछन् र पो । तेस्का बाजे ! अर्थोक के मारेछन् र हँ ? ठिटीहरुलाई हातपात पनि गरेछन् र छोड्न नमानेको रे ! तेरा यत्रा ठूला पार्टीका शीर्ष नेता उपनेता यस्ता झिना मसिना कुरामा अल्झिने त ? ठिटाहरुलाई पाले दिए पो पार्टी बलियो हुन्छ त ? छेउबा हुनुपर्नेहरु अझै पावर लेउबा गर्न थालेपछि हुन्छ त ? पार्टी बलियो बनाउनतिर लाग्नुपर्ने हैन र भन्या ? हे काका ! चुनावमा सिल्टिमुर खाएपछि पाटी त स्वात्तै धरातलभित्रछिरिहाल्यो नि ? अनि काम नभएसि निहुँ त खोज्नै पर्यो नि काका ! अनि गोविन्नेको अनशनले ठूलै माछा हात पर्यो भनेर मुलुक ठप्पै बनाएको हैन त ? तेरा पार्टी सरकारमा हुँदा केहि लछारपाटो नलाउने ।

सातचोटी बस्दा पनि माग जायज हैन, यो खुस्केको हो भनेर माग पूरा नगर्ने अनि दुई तिहाइको पालमा जोरी खोज्ने ? ए काका ! पाटी शिवखुलित भो । भित्रभित्र धमिराले खायो । कोही मिल्दैनन् । टिभीमा देखिन ङिच्च दाह्रा ङिच्चयाउछन्। तर पानी बाराबार छ । गोविन्नेको मसला हल भएसि अब के निउँ खोज्नु हो ! चुनाव हारेर निउरीमुन्टी न हुँदा दोष लिन कोही तयार भएनन् ।

उल्ले उल्लाई, उल्ले उल्लाई जेरी घुमाएजस्तो दोष लाए । अनि तँ पनि पाकेटमार थुनेको चौकीमा जान लागेको त वीरमाने ? कहाँ चौकीमा हुनु नि काका ! तिनलाई छोडाउन तीन दिनदेखि रत्नपार्कमा पार्टीका मान्छेहरु रिले अनशनमा छन् । पालो दिन जान लागेको । तेस्का बाजे ! अनि कार्यकर्ता मात्र अनशन बसेका ? कि ठूला नेता पनि बसे ? ल काका पनि ! पहिलो दिन पार्टी कार्यकर्ता बसे, छोडेनन् ।

दोस्रो दिन दोस्रो तहका नेता बसे तैपनि छाडेनन् । अब त बेइज्जत नै हुने भो भनेर तेस्रो दिन देखि सभापति उपसभापति ठूला नेता पनि बसेका छन् । थुक्क बजिया ! यत्रो पार्टीले तेस्ता चुल्ठे, मुन्द्रे पोकटमार छुटाउन अनशन बस्न लाज लाग्दैन ? तिमिहरु सबै डाडुमा पानी तताएर डुबे हुन्छ वीरमाने? हे काका ! खास मुद्दा नभएसि केही त गर्नै पर्यो, अस्तित्व जोगाउनै पर्यो नि ! तेस्का बाजे ! अनि हड्ताल, नेपाल बन्द, चक्का जाम, अफिस फोर्ने, गाडी जलाउने, अस्पताल चौकी घेर्ने कार्यक्रम छैन त बजिया ! ऐले उपत्यका मात्र बन्द गर्ने कि नेपालै बन्द गर्ने वा गाडी जलाउने तिर लाग्ने कि दुई तिहाइलाई एक तिहाइमा झार्न लाग्ने कोसिस गर्ने वा अदालत वा अन्तराष्ट्रिय अदालत जानेबारे मूल एजेण्डामा छलफल हुँदै छ।

यी यत्रो खा बजिया ! थुक्क ! पार्टीको यत्रो बेइज्जत हुने गरेर बाँचिरनु भन्दा त मर्नु बेस । जाबो पाकेटमार छुटाउन शीर्ष नेता अनशन बस्ने ? त्यो त हो काका ! तर के गर्ने, पाटीले भनेसि मान्नैपर्यो । के गर्ने त , बाघ बुढो भएसि फटेङ्ग्रा टिप्छ भन्थे ! तेस्का बाजे ! हुतिहारा बजिया ? ल जे गर्छस् गर । ल त काका , मत मरेकै स्याल भएँ पार्टीमा लगेर । अब मेरा छाउराछाउरीलाई पार्टीमा लग्न दिन्नँ भनेर ऊ अनशनतिर लाग्यो मचाहिँ त्यौडतिर लागें । कामना गाईजात्रा बिशेष

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.