नेपाल भ्रमणमा आउदै भारत र श्रीलंकाका विदेशमन्त्री

| 2023 Dec 14 | 04:19 pm 1097

काठमाडौं, मंसिर २८ / भारतका विदेशमन्त्री एस. जयशंकर र श्रीलकाका विदेशमन्त्री मोहम्मद उवैस मेहम्मद अली साब्री नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भारतीय विदेशमन्त्री जयशंकर नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन नेपाल आउन लागेका हुन् ।

श्रीलंकाका विदेशमन्त्री साब्री पनि नेपाल–श्रीलंका संयुक्त आयोगको बैठकमा सहभागी हुन नेपाल आउन लागेका स्रोतले जानकारी गराएको छ।नेपाल–भारत संयुक्त आयोगको बैठक सन् २०२४ जनवरीको पहिलो साताका निम्ति तय गरिएको छ । बैठक नेपाल र भारतका विदेशमन्त्रीको नेतृत्वमा हुनेछ ।

सन् १९८७ मा स्थापना गरिएको नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठक भारतको नयाँ दिल्लीमा २०२१ जनवरी दोस्रो साता भएको थियो । संयुक्त आयोगको बैठक आलोपालो आयोजना गर्ने अभ्यास छ । बैठकमा नेपाल–भारत सम्बन्धका सबै विषयमा छलफल गर्ने गरिन्छ ।

यस्तै, २००९ मा नेपाल–श्रीलंका संयुक्त आयोगको स्थापना गरिएको थियो । श्रीलंकाका तत्कालीन राष्ट्रपति महिन्दा राजपाक्षेको नेपाल भ्रमणका बेला संयुक्त आयोग गठन गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.