वीरगन्ज, माघ १०
नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाहलमा नव निर्मित लाईब्रेरी (पुस्तकालय) उदघाटन भएको छ।
नेपाल पत्रकार महासंघ पर्साको भवनमा एक कार्यक्रमको बिच बिहीबारको दिन वीरगन्ज लेडिज सर्कलले सभाकक्षमा निर्माण गरेको लाईब्रेरीको उदघाटन भएको हो ।वीरगन्ज लेडिज सर्कलले करिब डेढ लाखको लगानीमा निर्माण गरेको पुस्तकालयको नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले उदघाटन गरेका हुन् ।
लाईब्रेरीको उदघाटन गर्दै अध्यक्ष तिवारीले वीरगन्ज लेडिज सर्कलले करिब एक दशक देखि गर्दै आएको विभिन्न समाजिक कार्यक्रम अन्तर्गत पत्रकारहरुको लागि पुस्तकालय बनाएकोमा खुशी व्यक्त गरे ।
उनले पत्रकारहरुको लागी अध्ययन पनि आवश्यक रहेकाले नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा आउने पत्रकारले लाईब्रेरीमा बसेर पढ्न सक्ने बताए ।
अध्यक्ष तिवारीले मधेस प्रदेशमै सुबिधा सम्पन्न भवनमा नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा पुस्तकालय स्थापना गर्नेलाई धन्यवाद व्यक्त गरे ।कार्यक्रममा बोल्दै वीरगन्ज लेडिज सर्कल की अध्यक्ष प्रीति खेतानले पनि पत्रकारहरुको लागि पुस्तकालयको आवश्यक्तालाई पूरा गरेकोमा खुशी लागेको बताइन् ।
साथै उनले पत्रकारहरुको लागि अगामी दिनमा पनि अवश्यकता अनुसारको सहयोग गरिरहने विश्वास व्यक्त गरीन । कार्यक्रमको सहजीकरण वीरगन्ज लेडिज सर्कल कि उपाध्यक्ष खुश्बु सिंघानीयाले गरेकी थिइन् ।