दमकलाई कुखुरापालनको नगरी बनाइने

रिपोर्ट नेपाल | 2018 Dec 31 | 05:36 pm 2166

दमक, पुस १६  : प्रदेश नं १ मा करिव २० लाख सङ्ख्यामा लियर्स र ब्रोेइलर्स कुखुरा रहेको कुखुरा उत्पादकहरूले जनाएका छन् । अण्डा उत्पादक व्यवसायी सङ्घ प्रदेश समितिका अनुसार प्रदेशका विभिन्न स्थानमा व्यावसायिकरूपमा किसानहरूले पाल्दै आएका फार्महरूमा करिव २० लाख लिर्यस र ब्रोइसर्ल कुखुराहरू रहेका छन् । लियर्सको सङ्ख्या आठ लाख र ब्रोइलर्स करीब १२ लाख भएको सङ्घको अनुमान छ ।

तराईका झापा, मोरङ र सुनसरी जिल्लामा पोल्ट्री फार्म अधिक रहेको र ती फार्ममा करिव २५ सय किसानहरू व्यावसायिकरूपमा आबद्ध रहेको सङ्घका प्रदेश संयोजक माधव पराजुलीले जानकारी दिए । ती फर्ममा किसान बाहेक करीब एक हजार बढीले प्रत्यक्ष रोजगारी समेत पाएको उनले बताए । फार्ममा करीब रु दुई अर्बको लगानी रहेको अनुमान छ । उनले भने, “पोल्ट्री व्यवसायमा बजारीकरण बढेसँगै लगानीसमेत बढ्दै गएको छ ।”

पोल्ट्रीबाट दैनिक उत्पादित उपभोग्य बस्तु स्थानीयदेखि काठमाडौँसम्म निर्यात हुँदैआएको छ । सबै यहाँका वजारमा खपत नहुने भएकाले काठमाडौँका ठूला पोल्ट्री फार्मसम्म बजारीकरण गर्नुपरेको दमकका व्यवसायी समेत रहनुभएका सङ्घका प्रदेश संयोजक पराजुलीले बताए ।

पछिल्लो समय पोल्ट्री व्यवसायलाई राज्यले समेत प्रर्वद्धन गर्दैआएपछि यस्ता व्यवसाय फस्टाउँदै गएको स्वयं व्यवसायीहरूको धारणा छ । झापा जिल्ला अण्डा उत्पादक व्यवसायी संघका सचिव राजेन्द्र भण्डारीले अण्डा तथा कुखुरा उत्पादनले झापा आत्मनिर्भर बन्दै गएकोे बताए । कुखुराको मासुमा आत्मनिर्भर भएपनि अस्वस्थ प्रतिस्पर्धाले सिङ्गो व्यवसायमा उत्तिकै चुनौती भएको उनको भनाइ छ ।

दमकलाई पोल्ट्री उद्योगको सम्भावना भएको नगरीका रूपमा अघि सारिएको छ । देशकै ठूलो मानिएको चितवनको पोल्ट्री उद्योगपछि दमकलाई पनि त्यही स्तरमा विकास गर्न यहाँ पोल्ट्री उद्योगीहरूले चासो देखाएका हुन् । दमकलाई पोल्ट्री उद्योग नगरीका रूपमा विस्तार गर्न यहाँका व्यवसायीहरू जुटेको पराजुलीले बताए । उनले पोल्ट्री उद्योगको दोस्रो राजधानी बनाउन पूर्वाधार निर्माणको काम धमाधम भइरहेको जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.