थाइल्याण्डको गुफामा फसेका बालकहरुको पत्र : ‘चिन्ता नगर्नुहोस्, हामी बहादुर छौँ’

रिपोर्ट नेपाल | 2018 Jul 07 | 03:58 pm 1964

थाइल्याण्ड, असार २३: दुई हप्तादेखि थाइल्याण्डको एउटा गुफामा फसेका १२ बालकले आफ्नो परिवारका नाममा पत्र लेखेका छन्।

केही बालकले पत्रमा लेखेका छन्, ‘तपाईँहरु चिन्ता नगर्नुस्… हामी सबै बहादुर छौँ ।’ केहीले आफूलाई मन पर्ने परिकार पठाउन पनि आग्रह गरेका छन् । शनिबार बिहान थाई गोताखोरको एउटा टिमले गुफाभित्रबाट पत्र लिएर आएका हुन्।

त्यसअघि उद्धार दलका वरिष्ठ अधिकारीहरुले बालकहरुलाई श्वासप्रश्वासमा समस्या नहोस् भनेर अक्सिजनको पाइप बिछ्याएको जानकारी दिएका थिए।

‘वाइल्ड बोअर्स’ नामक फुटबल टिमका १२ किशोर खेलाडी तथा प्रशिक्षक अभ्यासपछि गुफा हेर्न गएका थिए । एक्कासी गुफामा बाढीको पानी पसेपछि उनीहरु भित्रै फसेका हुन्।

बालकहरुका अलावा २५ वर्षीय प्रशिक्षक इक्कापोल चान्तावोंगले पनि पत्र पठाएका छन्।

उनले पत्रमा लेखेका छन्, ‘म सबै परिवारलाई भन्न चाहन्छु। सबै बालक सुरक्षित छन्। उद्धार टोलीले हाम्रो हेरविचार गरिरहेको छ । म सबैसँग वाचा गर्छु कि बालकहरुको सुरक्षाका लागि मैले गर्न पर्ने सबै कुरा गर्छु। सहयोगका लागि सबैलाई धन्यवाद।’

पत्रको अन्त्यमा उनले लेखेका छन्, ‘जे भयो त्यसका लागि म सबै बालकका परिवारसँग माफी माग्न चाहन्छु। मलाई माफ गरिदिनु होला।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.