अर्को विवेकशील बन्ने बाटोमा छौँ : रास्वपा महामन्त्री ढकाल

| 2024 Jun 26 | 02:56 pm 1593

काठमाडौँ १२ असार / राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले देशभर समीक्षा यात्रापछि निकालेको निचोडलाई प्रतिवेदनका रूपमा तयार पारेका छन् । उनले आफ्नो प्रतिवेदन आज सभापति रवि लामिछानेलाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।

महामन्त्री डा. ढकालले रास्वपाको जनमत निकै खस्किएको विश्लेषण प्रतिवेदनमै उल्लेख गरेका छन् । पार्टीले बोल्ड निर्णय लिएर अगाडि नबढेमा अर्को चुनावसम्म अस्तित्व रक्षा गर्न कठिन हुने उनको निष्कर्ष छ ।

देश दौडाहापछि महामन्त्री ढकाललाई प्रतिवेदन बुझाउने जिम्मा दिइएको थियो। ढकालले बुधबार साँझ ६ बजे सभापति रवि लामिछानेलाई प्रतिवेदन बुझाउँदैछन्।

उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका सभापति लामिछाने बुझाउन तयार पारिएको प्रतिवेदनमा पार्टी दुर्घटनाउन्मुख रहेको निष्कर्ष निकालिएको छ। महामन्त्री ढकालले महाभारतको दृष्टान्तसमेत दिएका छन्।

उनले अहिले रास्वपासँग जनमत नभएको पनि उल्लेख गरेका छन्। यही जनमतका आधारमा राष्ट्रिय पार्टी बन्न हम्मे हुने उनको निचोड छ। पार्टीको वर्तमान भनेको जनमत छैन, जनमत जति छ, त्यसको आधारमा आज नै चुनाव हुने हो भने पार्टी हम्मेहम्मे तरिकाले राष्ट्रिय पार्टी बन्ला र प्रत्यक्षमा १–२ सिट जित्ला। भोलिका दिनहरू आजकै स्थितिअनुसार अघि बढे, पार्टीको हालत विवेकशीलसरी हुनेछ,’ उनले भनेका छन्।

‘यो भविष्यलाई नजिकबाट देखेपछि भन्नु वा लेख्नु उपयुक्त हुन्छ वा हुँदैन भन्ने प्रश्न ममा आयो। भागवत गीतालाई मैले सधैँ मानेको छु, र श्रीकृष्णको वचनलाई सधैं टेरेको छु। यहाँ श्रीकृष्णले नभन्नु भनेका रहेछन्। तर पार्टीलाई जन्मदाताकै रूपमा होस्, वा नेपाली जनताको आशाको रूपमा रहेकाले, मलाई मेरो पार्टीप्रति माया छ, चिन्ता छ,’ उनले भनेका छन्।

महामन्त्री ढकालले जेठ ६ गतेदेखि असार ५ गतेसम्म ३९ जिल्लाका नेता–कार्यकर्तासँग अन्तरक्रिया गरेका थिए। त्यसक्रममा २०७९ जनाभन्दा बढीसँग दोहोरो अन्तरक्रिया गरेको उनले बताए। ८० किलोमिटर पैदल यात्रा र ४ हजार २१६ किलोमिटर सडक यात्रा गर्दै पार्टीको दुई वर्षे यात्रा समीक्षा गरेको उनले बताए। यसरी दुर्घटना हुँदैछ भन्दा महामन्त्रीबाट हटाइनसक्ने पनि विवेचना गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.