काठमाडौँ, माघ ३। ‘छिमेकीको घरमा ट्वाइलेट छँदै छ किन मेरोमा बनाउने !, छिमेकीकोमा जानु त जहिले ?’
विराटनगरमा छँदाछँदै धरानमा विमानस्थल किन आवश्यक पर्यो भन्ने पत्रकारको प्रश्नमा धरानका मेयर हर्क साम्पाङले दिएको जवाफ हो, यो । तीन साताअघि टीभी अन्तर्वार्तामा साम्पाङले दिएको उक्त अभिव्यक्ति विमानस्थल निर्माणबारे जनप्रतिनिधि के सोच्छन् भन्ने दृष्टान्त पनि हो ।
आर्थिक सम्भाव्यता र यात्रुको चापलाई ध्यान नदिई लोकरिझाइँ, भोट ब्याङ्क बढाउने, कमिसनको लोभ जस्ता स्वार्थका कारण विमानस्थल निर्माणका नाममा हुने बेथितिहरूको लामै फेहरिस्त छ । अनावश्यक स्थानमा मापदण्ड र कानुन मिचेर राज्यको ठूलो स्रोतसाधन खर्च गरी बनाइएका धेरै विमानस्थल अहिले बन्द छन् । २०५१ सालदेखि बन्द रहेको बैतडीको पाटन विमानस्थलमा २६ वर्षपछि २०७७ साल असोजमा विमान अवतरण गर्यो । त्यसबेला परीक्षण उडानमा तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराई सवार थिए । तर, एक वर्षर् पनि नचलेर यो विमानस्थल फेरि बन्द भयो । अहिले गौचरन बनेको विमानस्थलको ‘रनवे’ मा युवायुवती भिडियो बनाउँछन्, स्थानीय टहलिन जान्छन् । ‘त्यो अवधिमा (०७७ असोजदेखि ०७८ चैतसम्म) १५/१६ पटक फ्लाइट भयो होला,’ पाटन विमानस्थलमा उडान गरेको समिट एयरका सुदूरपश्चिम प्रतिनिधि किशोर खड्काले भने, ‘सुरुमा सातामा दुई फ्लाइट गर्ने सेड्युल थियो, यात्रु नपुगेपछि एक पटक राखियो, तैपनि लोड पुगेन र बन्द गरियो ।’
नागरिक उड्डयन प्राधिकरणका अनुसार दोस्रो पटक उक्त विमानस्थल सञ्चालनमा ल्याउँदा सरकारले १६ करोड २ लाख रुपैयाँ खर्च गरेको छ । विमानस्थलको पछिल्लो तीन वर्षर्को कार्यालय सञ्चालन खर्च मात्रै १४ लाख २३ हजार रुपैयाँ छ ।
अचम्म त पाटन विमानस्थल यात्रु अभावमा बन्द भएको थाहा पाउँदापाउँदै त्यहाँबाट केही घण्टाको सडक दूरीमा रहेका दार्चुला र डडेलधुरामा पनि विमानस्थल निर्माणका नाममा ठूलो रकम खर्च भइरहेको छ । दार्चुलामा चमेलिया नदी किनारमा निर्माणाधीन गोकुलेश्वर विमानस्थलका लागि ३ करोड खर्च भइसकेको छ भने थप २० करोड रुपैयाँ खर्च हुने अनुमान छ । उक्त निर्माणाधीन विमानस्थलबाट पाटन विमानस्थलसम्मको सडक दूरी ६८ किमि (हवाई दूरी १२.२७ नटिकल माइल) मात्र छ । पाटन विमानस्थलबाट करिब ६ नटिकल माइलमा रहेको डडेलधुरामा नयाँ विमानस्थलको प्रस्ताव ल्याइएको छ । यो विमानस्थलको सम्भाव्यता अध्ययन गर्न तत्कालीन पर्यटनमन्त्री प्रेमबहादुर आलेमगरले २०७८ पुसमा ५० लाख विनियोजन गरेका थिए । जब कि हवाई नीतिले हिमाली र पहाडी क्षेत्रमा प्रस्तावित विमानस्थल र निकटस्थ विमानस्थलबीचको दूरी साधारणतया २० नटिकल माइल हुनुपर्ने व्यवस्था गरेको छ ।
(कान्तिपुरबाट)