संघीय सरकारको गल्ती प्रदेश र स्थानीय सरकारले दोहोर्‍याउनु हुँदैन: गगन

रिपोर्ट नेपाल | 2026 May 08 | 06:21 pm 349

वैशाख २५ काठमाडौँ / नेपाली कांग्रेसका सभापति गगन थापाले संघीय सरकारले गरेको गलत काम प्रदेश र स्थानीय सरकारले गर्न नहुने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘ग्रीन टेबल’ छलफल श्रृंखलाअन्तर्गत सुकुम्वासी समस्या सम्बन्धी कार्यक्रममा सभापति थापाले संघीय सरकारले गरेका कमजोरी प्रदेश र स्थानीय सरकारले दोहोर्‍याउन नहुने बताए ।

डोजर चलाउने हल्ला र त्रासको पछि नलाग्न आग्रह गर्दै उनले कानुन, नीति र योजनाका आधारमा मात्र समस्या समाधान खोजिनुपर्नेमा जोड दिए। सभापति थापाले दशकौंदेखि जटिल बन्दै आएको सुकुम्बासी समस्या बल प्रयोगबाट नभई योजनाबद्ध र मानवीय ढंगले समाधान गर्नुपर्नेमा जोड दिए।

वास्तविक सुकुम्बासीको पहिचान, सुरक्षित पुनर्वास, आधारभूत सेवाको सुनिश्चितता र दीर्घकालीन व्यवस्थापनलाई केन्द्रमा राखेर मात्रै कदम चाल्नुपर्ने उनको धारणा थियो।

पार्टीले यस विषयमा छुट्टै टोली बनाएर अनुगमन र मूल्यांकन गरिरहेको जानकारी दिँदै थापाले ग्रिन टेबलको छलफलबाट आएका सुझावका आधारमा सबै प्रदेश तथा स्थानीय सरकारलाई औपचारिक पत्राचार गरिने पनि जानकारी दिए।

कांग्रेसले ‘ग्रिन टेबल’ कार्यक्रममार्फत नीति निर्माण र जनसरोकारका विषयमा खुला संवाद अघि बढाउन थालेको छ। पार्टीभित्र सीमित रहने परम्परागत छलफलभन्दा फरक शैलीमा विज्ञ र सरोकारवालासँग प्रत्यक्ष बहस सुरू गरिनुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण पहलका रूपमा हेरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.