संघीयताले देश कमजोर बनाउँछ भन्दा नसुन्नेहरू अहिले भित्रभित्रै पछुताएका छन्

| 2018 Jun 17 | 08:16 am 4495

– चित्रबहादुर केसी (अध्यक्ष, राष्ट्रिय जनमोर्चा)

० वर्तमान सरकारको काम– कारवाहीमाथि विश्लेषण गर्दा खास उपलब्धि तपाईं के–कस्तो देख्नुहुन्छ ?
– यो सरकार गठन भएपछि जनताले देख्ने गरी एउटै मात्रै काम गरेको छ, त्यो भनेको यातायतको सिण्डिकेट तोड्न गरिएको प्रयास हो । लामो समयदेखि सिण्डिकेट लादेर अधिनायकवादी बनेको यातायात क्षेत्र अब भने जनता राम्रा–राम्रा र सुविधाजनक सवारीसाधनमा सवार हुन पाउने भएका छन् । अन्य कामका विषयमा अहिल्यै मूल्यांकन गर्ने बेला भएको छैन भन्ने लाग्छ मलाई । तर, प्रधानमन्त्रीका रूपमा केपी ओलीले काम गरेर देखाउने समय आएको छ, कति गर्छन् त्यो हेर्न बाँकी छ ।

० नेताहरूको मुखमै झुण्डिने गरेको एउटा बोली छ– ‘विदेशी इसारा’ । यो सरकारचाहिँ त्यस्तो वाह्य इसारामा नाचेको छ कि छैन होला ?
– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला सरकारले देखाएको तामझाम हेर्दा कता–कता शंका गर्ने अवस्था पैदा भयो । यो सरकार इतिहासमा सबैभन्दा बलियो सरकार हो । यस्तो बलियो सरकाले त्यतिसम्म चाकडी गर्नुपर्ने आवश्यकता पर्छ जस्तो मलाई लग्दैन । प्रधानमन्त्री केपी ओलीले आफूलाई सबैभन्दा बढी राष्ट्रवादी भएको देखाउनुहुन्छ । तर दुर्भाग्य भन्नुपर्छ कि उहाँले भारतीय सैनिकलाई खुला चलखेल गर्न दिनुभयो मोदी भ्रमणको सन्दर्भमा । आफ्नो सुरक्षा फितलो भएको संकेत गरेर मोदीको सुरक्षार्थ भारतकै सेना ल्याइयो त्यो गलत थियो ।

० निवर्तमान देउवा सरकार र वर्तमान ओली सरकारका विषयमा तुलनात्मक रूपले भन्नुपर्दा फरक के पाउनुहुन्छ ?
– कसैलाई यो सुन्दा आश्चर्य लाग्न सक्छ, तर मैले यी दुई सरकारमा खासै भिन्नता पाएको छैन । केपी नेतृत्वको वर्तमान सरकारले अबका दिनमा कस्तो काम गर्छ त्यसका आधारमा मात्रै तुलनात्मक मूल्यांकन गर्न सकिएला ।

० अहिलेसम्मको स्थितिमा सरकार सफल नै भएको या सफल हुने बाटोमा छ भन्न मिल्छ कि मिल्दैन ?
– मैले अघि नै भनिसकँे, अहिल्यै मूल्यांकन गर्ने बेला भएको छैन । विगतमा भारतीयहरूले आफूअनुकुल नहुँदा फुटाउने र जुटाउने काम गर्थे । अहिले पनि त्यो प्रकृया अनवरत चलिरहेको छ । अरुको खुशीका लागि आफ्नो स्वाभिमान कति समाप्त पार्छन्् त्यसमा सफलता र असफलता हात लाग्ने हो । प्रधानमन्त्री र मन्त्री भारतीय र युरोपियन युनियनको प्रभावका कति पर्छन् भन्ने कुरा हेर्न बाँकी नै छ ।

० यसअघि ओली नेतृत्वको सरकारमा तपाईं पनि हुनुहुन्थ्यो, केपीको काम गर्ने तौरतरिका कस्तो पाउनु भयो ?
– केपी आलीले काम गर्न खोजेको देखिन्छ । सबैभन्दा ठूलो कुरा एक व्यक्तिभन्दा पनि टिमको कुराले बढी महत्व राख्दछ । उहाँले चाहेर मात्रै केही हुँदैन । मन्त्रीहरूले पनि दत्तचित्त भएर काम गर्नुपर्छ ।

० अहिलेसम्मको अवस्थाका आधारमा वर्तमान सरकारलाई सुझाव दिनुपर्दा तपाईं के दिनुहुन्छ ?
– बेला–बेलामा प्रधानमन्त्री ओलीले दिने गरेका अभिव्यक्तिले मुलुक समृद्धिमा जान बाधा पुग्छ भन्ने लाग्छ । मुलुकको सर्वाङ्गीण विकास गर्नका लागि सबै दलको सहयोग लिन जरुरी हुन्छ । संविधान जारी गर्दा दलहरू जसरी मिलेका थिए कार्यान्वयनमा पनि एकमत हुन आवश्यक छ । हामीकहाँ गणतन्त्र त आयो त्यसको संस्थागत विकास हुन सकेको छैन । सरकारले आफ्नो पहिलो प्राथमिकतामा गणतन्त्रलाई संस्थातग विकासमा राख्नुपर्छ । केपी नेतृत्वको यो सरकार इमान्दार भएर लाग्ने हो भने मुलुकको विकासमा कायलपट हुने गरी फड्को मार्छ । ओलीजीले यस कुरालाई ध्यान दिनुपर्छ ।

० संघीयताका विषयमा तपाईंको मत फेरिएको हो ?
– संघीयताले देशलाई कमजोर बनाउँछ भनी हामीले भन्दा नसुन्नेहरू अहिले भित्रभित्रै पछुताएका छन् । केन्द्रीय अधिकार कटौती गरी धेरैभन्दा धेरै अधिकार गाउँलाई दिएर यो प्रान्तीय कुराचाहिँ छाड्नुपर्छ ।

० अब त प्रान्तीय संरचना सबै बनिसकेका छन्, संघीय शासन प्रणालीबाट पछि हट्न मिल्ला र ?
– ‘काँचो सुन्तला नखाँदै यो चाल खाए कुन चाल’ भनी मैले शुरुदेखि संघीयताप्रति टिप्पणी गर्दै आएको छु । संघीयतामा प्रवेश गर्नासाथ अहिले एउटा प्रदेशबाट अर्को प्रदेशलाई हेर्ने जुन दृष्टिकोण पैदा हुँदैछ, भोली त यो समस्याले भयावह स्थिति सृजना गर्छ । तसर्थ, जेसुकै संरचना बनेको भनिए पनि संविधान संशोधनको माध्यमबाट संघीयताबाट फर्कन मिल्छ ।

० प्रसङ्ग बदलौँ, एमाले र माओवादीको एकतालाई तपाईं के भन्नुहुन्छ ?
– यिनीहरूको सिद्धान्त र शुरुवाती प्रकृयामा खासै भिन्नता नभए पनि दुई पार्टी छुट्टाछुट्टै अस्तित्वमा थिए, जुन आवश्यक थिएन । ढिलै भएपनि एकता गरेर उनीहरूले आफ्नो हित नै गरेका छन् ।

० यो एकताको टिकाउका विषयमा धेरै प्रश्नहरू उठ्ने गरेका छन् । तपाईं कत्तिको टिकाउ होला भन्नेमा तपाईं कति विश्वस्त हुनुहुन्छ ?
– प्रचण्ड र केपी दुबै अलि बढी महत्वकांक्षी नेता हुन् । उनीहरूको महत्वकांक्षा कुन सीमासम्म रहन्छ या एउटा सीमामा बाँधिन्छ, एकताको टिकाउपन पनि त्यसमै भर पर्छ । केपी र प्रचण्डको कुरा मात्र भएन, उता झलनाथखनाल, माधव नेपालजी पनि हुनुहुन्छ । टाउको जोडिए पनि पुच्छरका कार्यकर्ताहरू यो पाइएन र त्यो पाइएन भनेर कराइरहेका छन् । तल्लो तहमा एकताको खासै प्रभाव परेजस्तो मलाई लागेको छैन ।

० सबै कम्युनिष्टलाई एउटै छातामुनि ल्याउने भन्दैछन् त ओली र प्रचण्ड, त्यो सम्भावना कत्तिको छ ?
– आधारभुत सिद्धान्तलाई तिलाञ्जलि दिँदै पुँजीवादी एकता गरेका ओली–प्रचण्डको त्यो भनाइमा कुनै दम छैन । कुहिएकाहरू एक भए भन्दैमा स्वाभिमानी र सिद्धान्तप्रति अडिग कम्युनिष्टहरू त्यस्ता पुँजीवादीसँग एकता गर्न जाँदैनन् । यो दुई पार्टीको एकता पुँजीवादी एकता भएको हाम्रो ठहर छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.