कपिल काफ्ले
श्रीमतीको भाई ‘साला’, श्रीमान्को भाई ‘देवर’ । तर, कसैलाई गाली गर्नुपर्दा साले भन्ने, तर देवरचाहिँ किन नभन्ने ? महिला र पुरुष समान भएपिछ गालीमा पनि समानता चाहियो नि ! कि चाहिएन ? त्यसैले ‘साले’लाई त्यस बेलासम्म लोकतान्त्रिक गाली भन्न सकिन्न, जुनबेलासम्म ‘देवरे’ भनेर रिस पोख्न पाइन्न ।
गाँस, बास , कपासमा लोकतन्त्र नभइरहेको बेला तँलाई गालीमा लोकतन्त्र किन चाहियो भनेर पाठकलाई झोक चल्न सक्छ । हो पनि । ‘मुलुकमा अब कम्युनिष्ट पार्टीको सरकार छ, कोही खान नपाएर मर्दैन’ भनेर प्रधानमन्त्री केपी ओलीले बोलिसकेका छन् । त्यसैले कसैले खान पाँइन भनेर मर्यो भने त्यसलाई राजकाज मुद्दा लगाइदिनुपर्छ ।
प्रधानमन्त्री ओलीलाई असफल बनाउन खान पाँइन भन्दै पाइन्छ र ! बास अर्थात घर भएन भनेर कसैले सरकारी जमिनमा कटेरो बनायो भने, त्यसलाई पनि राजनीतिक अपराध गरेको अभियोगमा जेल हाल्नुपर्छ । छोड्नु हुन्न । सरकारलाई असफल बनाउन सुकिला मुकिलाले जे गरे पनि हुने दिन अब गए ।
हुनत सरकारलाई असफल बनाउन किशोरी र महिलामाथि बलात्कारसमेत हुने गरेको सुन्नमा आएको छ । कति निच छन् यी सरकार विरोधी सुकिला मुकिलाहरु ! पछिल्लो एउटा मार्मिक घटना हेरौं, सरकारलाई बदनाम गर्न कञ्चनपुरमा एक किशोरीलाई सामुहिक बलात्कार गरी पाशविक तरिकाले हत्या गरेको देखियो । ती किशोरीको उमेर केबल १३ वर्षको थियो।
वास्तवमा यति कलिलो उमेरकी बालिकालाई देखेर जस्तोसुकै अपराधीमा पनि कामुकता नआउनुपर्ने हो, तर त्यस प्रकारको कामुकता सरकारलाई बदनाम गर्नकै लागि जबरजस्ती ल्याइयो । अझ, यसो भनौ, नेकपाको सरकार देखेर त्यस प्रकारको कामुकताजागृत भएको हो । हिजोका एमाले र माओवादी केन्द्रको टिकट पाएर आज संघीय तथा प्रादेशिक सभाका सदस्य बन्न पुगेका महिलाले समेत निर्मला पन्त नामकी बालिकाको हत्यामा सोह्र आना राजनीति देखे ।
नेकपालाई बदनाम गराउन त्यस प्रकारको अपराध भएको हो भनेर संघीय संसद्मै बोलेपछि आशंका सकियो । हिजो सत्ताबाहिर रहँदा महिलामाथि विभेद र शोषणको कुनै घटना भएको देख्नासाथ सडक तताउने, विरोधमा नेपाल बन्द गर्नेहरुले नै पाशविक बलात्कारका घटना सरकारलाई असफल बनाउनका लागि भइरहेको छन् भनेपछि आशंकाको गुञ्जाइस बाँकी रहन्न ।
भनिन्छ, युद्धका बेला महिलामाथि यौनहिंसा बढ्छ । हतियारधारीहरु महिलामाथि त्यसरी झम्टिन्छन्, जसरी सिनोमाथि गिद्ध झम्टिन्छ । हतियारधारीहरु मानवबाट दानव बन्न पुग्छन् । युद्धमा पराजय भएको आक्रोश विरोधी पक्षका महिलामाथि पोख्छन् । के अब नेपाली छोरीहरुलाई विरोधीहरुले दुश्मनका सदस्य ठान्न थाले ? नेकपाका केही सांसदहरुले संघीय संसद्मा गरेका सम्बोधन सुन्दा त्यस्तै लाग्छ !
कञ्चनपुरको पाशविक घटनामा अपराधीलाई सजाय हुन ननपाउँदै छिमेकी जिल्ला कैलालीमा १३ वर्षकै अर्की बालिका बलात्कारको शिकार भएको समाचार प्रकाशित भयो । मुलुकका विभिन्न स्थानमा बालक अपहरण र हत्याका जघन्य घटना बाहिर आए । मानौं, यस्ता पाशविक घटना गराउनेहरु अभियानका रुपमा अघि बढेका छन् । तराईमा बढी देखिने बालक अपहरण र फिरौती रकम पाए पनि नपाए पनि बालकको हत्या गर्ने बर्बरताले राजधानी र पहाडी क्षेत्रमा पनि प्रवेश पाएको छ । ११ वर्षका बालक निशान खड्का त्यसकै उदाहरण हुन्।
के यी सबै बलात्कार र हत्याका पाशविक जंगली व्यवहारलाई राजनीतिक टीका लगाउन मिल्छ ? मिल्छ भने निर्मला र निशानलाई उनीहरुका बाबुआमाले जन्म दिएर राजनीतिक षड्यन्त्र पो गरेका हुन् कि ! बलात्कृत हुन सक्ने छोरी र अपहरणमा पर्न सक्ने छोरा जन्माउनु आमाबाबु र हत्यामा पर्नका लागि नेपाल कम्युनिष्ट पार्टीकै सरकारको समय पर्खेर बस्ने पीडितहरुलाई पनि आशंका गर्नुपर्ने हुन्छ ! वास्तवमा बलात्कारी, अपहरणकारी र हत्यारालाई मात्र राजनीतिक अपराधी मानेर पुग्दैन, पीडितको खोल ओढेर बसेका सदस्यहरुले पनि सरकारको विरुद्ध षड्यन्त्र गरेको हुन सक्छन्।
हरेक षड्यन्त्रलाई नाङ्गा आँखाले देख्न सकिन्न, यी घटनाको गहिराइसम्म पुग्ने हो भने आँखा चिम्म गरेर ससपना देख्नु आवश्यक हुन्छ । यसका लागि मानिस कल्पनाशील हुनु आवश्यक छ । पर्याप्त कल्पना गरियो भने मात्र घटनाको गहिराइसम्म पुग्न सकिन्छ । सबैलाई थाहै छ, मुलुकमा नेकपा र नेका नामका दलहरु जति अरु कोही पनि कल्पनाशील र गालीगलौजमा माहिर छैनन्।
सनदर्भ छ, ‘साले’ र ‘देवरे’ को । मुलुकमा यत्रा धेरै अपहरण , बलात्कार र हत्याका घटना भइरहेका छन् भने स्वभावतः गालीका लागि शब्दभण्डारको विस्तार गर्नु आवश्यक हुन्छ । डा गोविन्द केसीका सबै माग पूरा गरेर जब केपी ओलीले सरकारले उनको १५औं आमरन अनशनलाई पूर्णविराम लगायो, तब प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले सगौरव भने डा गोविन्द केसीको पक्षमा नेपाली कांग्रेसलेको आन्दोलन देखेर ‘आली सरकारले घुँडा टेक्यो।’
उनी र उनका साथीले प्रसन्नता प्रकट गर्दै संघीय संसद् थर्काए । त्यसबेला ‘साले’अथवा ‘देवरे’ शब्दको प्रयोग हुन पाएको भए कति मज्जा आउँथ्यो ! नेका सभापति शेरबहादुर देवाले आफ्नै पार्टीका समकक्षी नेता रामचन्द्र पौडेललाई ‘ मविरुद्ध लड्ने कि ओलीविरुद्ध ’ भनेर सातो लिए । यसरी झपार्दा उपयुक्त ठाउँ हेरेर ‘साले’ र ‘देवरे’ को प्रयोग हुन सकेको भए त्यसको स्वाद कहाँ पुग्दो हो ! एकपटक सोचौं त पाठकवृन्द !
मलुकमा आज अनतर्पार्टी मात्र होइन, पार्टीभित्रै पनि गुट उपगुटका लागि ‘साले’ र ‘देवरे’ जस्ता शब्दहरुको प्रयोग खाँचो देखापर्दछ । यस्ता गालीका शब्दमा लैङ्गिक समानता तथा सामाजिक समावेशिता जसलाई ‘जेसी’ भनेर मानिसहरु बुझ्ने गर्छन्, त्यस पक्षले पनि हेर्नु आवश्यक छ । जस्तो, केटालाई गाली गर्दा साले भन्ने हो भने केटीका लागि साली स्वभाविक लाग्छ, यस्तै देवरे भनेर भनेर गाली गर्दा मात्र मजा आउने होइन, नन्द वा नन्दे भनेर पनि आनन्द लिन सकिन्छ । माहिलाले पुरुषलाई गाली गर्दा देवरे र महिलालाई गाली गर्दा नन्दे भन्ने गरियो भने मन खुस हुन्छ।
यदाकदा पुरुष र महिलाका लागि मात्र गालीका शब्द बनाउने, हामीलाई भने कुनै वास्तै नगर्ने भनेर एलजीबीटीआई वा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले चित्त दुखाउन सक्छ, तर हाललाई उनीहरुले बहुसंख्यक समुदायका गालीका शब्दले नै काम चलाउनुको विकल्प देखिन्न । वास्तवमा यौन सनतुष्टिका लागि जता पनि र जसरी पनि सम्पर्क राख्नेहरु बी श्रेणीमा पर्ने अर्थात् बाइसेक्सुयल कहलिनेजस्तो गालीका शब्द पाउन सजिलो हुन्न । यौनसन्तुष्टि लिन सजिलो तर गालीका शब्द पाउन गाह्रो ! यथार्थ बुझिराख्नुस् है पाठकज्यूहरु !
गालीका शब्दको विकास गर्दा भन्ने र भनिने दुबै पक्षमा ध्यान दिनुपर्छ । किनभने, अहिले हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा छौं । यस कालखण्डमा बच्चा भयो भने विवाह भएको मानिन्छ, यसका लागि विवाह दर्ता आवश्यक छैन । बच्चा नभए पनि विवाह भएकै मान्ने हो भनेचाहीँ विवाह दर्ता गर्नु आवश्यक छ।
विवाह गर्दिन तर लिभिङ टुगेदर गर्छु भन्नुहुन्छ भने पनि आनन्द उठाउन सक्नुहुन्छ । उमेर ढल्क्यो, सुगर ड्याडी वा सुगर ममी बन्नुहुन्छ भने पनि बन्नुहोस्, तपाइलाई नै हो लोकतन्त्र आएको । यत्ति हो, बैंक ब्लालेन्स भने राम्रै हुनुपर्छ अन्यथा तपाइले लोकतान्त्रिक आनन्दलाई सुरक्षित अवतरण गर्न सक्नुहुन्न।
ख्याल गर्नैपर्ने कुरा के भने, मुलुक जब संघीयतामा गयो, महँगो लोकतन्त्र अझ बढी महँगो भयो । सरकारले सबै कुरा मुखैमा ल्याएर कोच्याइदेओस् भन्ने जनता र जति अपराध गरे पनि जनताले मैलाई मान्नुपर्छ भन्ने सरकारका कारण लोकतन्त्र साँच्चिकै महँगो भएको हो । सर्वत्र महँगी छ । गालीका शब्दहरु महँगा भएका छन् ।
अर्थशास्त्रको नियमअनुसार जुन वस्तु बजारमा थोरै हुन्छ, त्यो महँगो हुन्छ । त्यसैले गालीका शब्दहरुको आपूर्ति बढाउने कार्यमा लेखकले देवरे, नन्दे आदि शब्द पस्केर योगदान दिएको छ । लैङ्गिक समानताको आन्दोलनमा अग्रपंक्तिमा उभिने प्रयास गरेको छ । आशा छ, कामनाले यस योगदानको कदर गर्नेछ, पुरस्कार र प्रशंसापत्रको ओइरो लगाइदिनेछ।
कामना गाइजात्रे विशेषबाट