काठमाण्डौ २४ फागुन / रेशम चौधरीलाई नागरिक उन्मुक्ति पार्टीको अध्यक्षको मान्यता दिन निर्वाचन आयोगले अस्वीकार गरेको छ।
आयोगले रेशम पार्टीको सदस्य नै बन्न अयोग्य रहेको भन्दै रञ्जीता श्रेष्ठ चौधरी अध्यक्ष कायम रहने निर्णय गरेको छ। आयोगका एक पदाधिकारीका अनुसार चौधरी अध्यक्षका लागि योग्य नदेखिएकाले रञ्जीतालाई अध्यक्षको मान्यता दिने आयोगको निर्णयमा उल्लेख छ।
कैलालीको टीकापुरमा गत पुस २७ गते भएको नागरिक उन्मुक्तिको महाधिवेनबाट उनी अध्यक्ष बनेका थिए। महाधिवेशनपछि नागरिक उन्मुक्तिले पार्टीको अभिलेख अद्यावधिकका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो। तर आयोगले अध्यक्षमा चौधरीको नाम अद्यावधिक गर्न अस्वीकार गरेको हो।
२०६२ जेठ ७ गतेको टीकापुर घटनामा जन्मकैदको सजाय पाएका चौधरीलाई गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिबाट कैद मिनाह भएको थियो। टिकापुर घटनामा ८ जना प्रहरीसहित एक बालकको मृत्यु भएको थियो। चौधरी उक्त घटनाको योजनाकार रहेको भन्दै उनले अदालतबाट जन्मकैदको सजाय पाएका थिए।