राजनीतिक विश्लेषक प्रा.डा. गोविन्दमानसिंह कार्कीलाई तीन प्रश्न

| 2024 Feb 18 | 07:44 am 1445

काठमाडौँ, फागुन ६।

कांग्रेस केन्द्रीय समितिले महासमिति बैठकका तीन प्रस्ताव पारित गर्‍यो, तर असन्तुष्टि कायमै देखिन्छ नि ?
यो नेतृत्वले छलफल गरेर नलाँदाको परिणाम हो । कांग्रेसले नीति अधिवेशनबाट धेरै विषयको टुंगो लगाएर जानुपर्नेछ । तर, प्रस्ताव तयार पार्दा जे देखियो, यसले गर्दा आसन्न महासमिति बैठक परिणाममुखीभन्दा पनि नेतृत्वको बहुमतको बलमा कर्मकाण्डी मात्रै बन्ने हो कि भन्ने अवस्था देखिएको छ । त्यसको परिणामस्वरूप केन्द्रीय स्तरका नेताहरू नै असन्तुष्ट बनेर धेरै विषयमा पूरक एजेन्डा र छुट्टै प्रस्ताव लाने तयारी गरिरहेको देखिन्छ ।

पार्टीका लागि आवश्यक नीतिका विषयमा पर्याप्त प्रस्ताव आएका छन् त ?
कांग्रेस पछिल्लो समय विधानअनुसार चलेको छैन । कांग्रेस नेतृत्वले आफैँले बनाएको विधानको प्रावधान मिच्दै आएको छ । नेतृत्वले आफूअनुकूल समयमा मात्रै विभाग गठनलगायत काम गरेको छ ।  भ्रातृ संस्थालाई तदर्थ बनाइएको छ । तीन प्रस्तावमा जे विषय आए, तिनले मात्र कांग्रेस रूपान्तरण हुने सम्भावना देखिँदैन ।

हिन्दू राष्ट्रको पक्षमा पनि प्रस्ताव आउनुपर्छ  भन्ने मतलाई कसरी लिन सकिन्छ ?
सभापति शेरबहादुर देउवाले पनि यो छलफलको विषय बन्न सक्छ भन्नुभएको छ । कांग्रेसमा एक हिसाबले हिन्दू राष्ट्रको पक्षमा उभिन ठूलो दबाब पनि छ । हाई कमान्डमा रहेका केन्द्रीय सदस्यले नै यसको पक्षमा वकालत गरिरहनुभएको छ । त्यो शक्ति कति बलियो छ, त्यसले पनि छलफलको विषय बन्ने–नबन्ने निर्धारण हुने देखिन्छ ।  तर, समग्रमा यो कांग्रेसका लागि अप्ठ्यारो विषय हो । बैठकमा छलफलको विषय बने पनि आधिकारिक निर्णयमा यो आउने सम्भावना देखिँदैन । ( नयाँपत्रिकाबाट )

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.