यस्ता छन् उपत्यका भित्रका शक्तिपीठ

| 2018 Oct 15 | 04:52 pm 2946

-महेन्द्र पाण्डेय
नेपालीहरुको महान चाड विजया दशमी हरेक नेपालीको घर घरको ढोकामा आइसकेको छ । घटस्थापनाका दिनदेखि मुलुकभर दशैं घर र शक्तिपीठमा भक्तजनहरुको घुइचो लाग्ने गरेको छ । दशैं मनाउनका लागि देश विदेशबाट आफ्नो घर फर्कनेको संख्या पनि दिन प्रतिदिन बढोन्तरी भइरहेको छ । काठमाडौंका विभिन्न नाकाबाट मात्रै लाखौंको संख्यामा मानिसहरु आफ्ना मान्यजनको हातबाट टीका थाप्नका लागि बाहिरिएका छन् । काठामडौं उपत्यकामा रहेका शक्तिपीठहरुमा पूजाआजाका लागि भक्तजनको लाम ठूलै देख्न पाइन्छ । उपत्यकामा भएको दशैंका शक्तिपीठहरुबारे प्रस्तुत गरिएको छ ।

ललितपुरको लगनखेल नजिकै रहेको महालक्ष्मीको मन्दिरमा दशैंका समयमा भक्तजनको ठूलो भिड लाग्ने गरेको पाइन्छ । हिन्दुहरुका त्रिदेव महाकाली महालक्ष्मी र महासरस्वतीलाई ठूलो देवीका रुपमा मान्ने गरिन्छ । दशैंका बेला भक्तजनको अत्यन्तै भिड लाग्ने यो शक्तिपीठमा पूजाअर्चना गरेपछि वरिवारमा सुख शान्ति आउने जनविश्वास छ ।

त्यस्तै ललितपुरकै हरिसिद्धीमा रहेको मन्दिरमा पनि धर्मालम्बीको यति खेर ज्यादै ठूलो भिड देख्न पाइन्छ । विशेष गरी गाईजात्रा पर्वको भोली पल्ट हरिसिद्धी मन्दिरमा पानीमा मनाइने जात्र अत्यन्तै रोमाञ्चकारी हुन्छ । यो मन्दिरमा दशैंमा समेत दर्शन गर्नेको घुँइचो लाग्ने गरेको छ ।

त्यस्तै काठमाडौंको हनमानढोका परिसरमा रहेको तलेजु मन्दिरको पनि आफ्नै मौलिकता र विशेषता छ । वर्षको एक दिन मात्रै खुल्ने यो मन्दिरमा दर्शन गर्नेको भिड हेर्ने लायककै हुन्छ । दशैंको महानवमीका दिनमात्रै यो मन्दिर खुला हुने गरेको छ । मल्ल राजाहरुले तलेजु मन्दिरलाई निजि प्राथना स्थल बनाएको सुन्न पाइन्छ । दैवी शक्ति र मातृशक्तिका रुपमा पुजिने तलेजु मन्दिरहरु काठमाडौं बाहेक छिमेकी जिल्लाहरुमा समेत रहेका छन् । काठमाडौंको हनमानढोका दरबार परिसरका रहेको तलेजु भगवानको मूर्तिलाई फूलपातीका दिन दरबारको मूलचोकमा राखिन्छ । त्यसरी तीन दिन त्यहाँ राखिएपछि नवमीका दिन मन्दिरमै मूर्ति ल्याएपछि सर्वसाधरणको दर्शनका लागि दिनभर खुला राखिन्छ । तलेजुको दर्शनका लागि झिमिसे बिहानैदेखि रातीसम्म भक्तजन लामबद्ध भएर दर्शन गर्ने गरेका छन् ।

त्यस्तै संकटादेवीको दर्शन गर्न पनि हरेक शनिबार भिड लाग्ने गरेको छ । टेबहाल गल्लीमा रहेको दुईतल्ले यो मन्दिरमा माथिल्लो तलामा संकटा देवी छन् भने तल्लो भुइतल्लामा करुणामय राखिएको छ । दशैंको बेला अत्यन्तै भिड हुने संकटा देवीको दर्शन पछि संकटमोचन हुने जनविश्वास छ ।

त्यस्तै नेपाली सेनाको पेट्रोल पम्प अगाडी रहेको भद्रकाली मन्दिर पनि उपत्यका भित्रका मन्दिर मध्ये शक्तिपीठका रुपमा चिनिन्छ । प्राय सधै पूजाअर्चना गर्ने भिडभाड लाग्ने यो मन्दिरमा विवाह गर्ने जोडीको पनि भिड नै लाग्ने गर्दछ । यो मन्दिर श्रीमद्भागवत् कथा वाचनका लागि पनि प्रख्यात मानिन्छ । दुर्गाकवचमा उल्लेख भए अनुसार भगवतीका अनेक अवतार मध्ये भद्रकालीको नवरात्रका दिन विशेष पूजाअर्चना गरिन्छ त्यस दिन पूजाआर्चनाका लागि ठूलो संख्यामा भक्तजनको उपस्थिति रहेने गरेको छ ।

न्यूरोड इन्द्रचोकमा बीच भागमा रहेको नरदेवीको पनि आफ्नै किसिमको ऐतिहासिकत्ता छ । पहिला पहिला मान्छेको वली दिइने भएका कारण नरदेवी नामाकरण भएने स्थानीय बुढापाका बताउँछन् । नरदेवीको दर्शन र पूजाआजा गरेपछि मानेकामना पूरा हुने र सुस्वास्थ्य भइने विश्वास गरिन्छ ।

त्यसैगरी विष्णुमति नजिकै रहेको विजेश्वरी भगवती मन्दिरको पनि आफ्नै विशेषता रहेको छ । बडादशैंमा विशेष किसिमको भिडभाड लाग्ने यो मन्दिरमा खटयात्रा गर्ने पनि गरिन्छ । नक्सालमा रहेको अर्को शक्तिपीठ नक्साल देवी हो ।यहाँ रहेकी देवीको दर्शन गरेपछि मोक्ष प्राप्ती हुनुका साथै सुख शान्ति मिल्ने विश्वास गरिन्छ । यो मन्दिरमा सोह्र भूजायुक्त देवीको मूर्ति रहेको छ । नक्साल भगवतीको दर्शन गर्न काठमाडैं वरिपरीबाट भक्तजन आउने गरेका छन् । दशैंको घटस्थापना देखि विशेष पूजा हुने अर्को शक्तिपीठ गुहेश्वरी पनि हो ।

बागमती नदीको किनारमा पशुपतिनाथ मन्दिरको नजिकै रहेको यो गुहेश्वरीमा कुनै देवीको मूर्ति छैन । गुहेश्वरीमा सानो प्वाल छ र त्यहाँ कलश राख्ने गरिएको छ ।

मैतिदेवीमा अंशुवर्माका पालादेखिको मुर्ति र शिलालेख रहेका छन् । तान्त्रिक विधिबाट पूजा हुने मैतिदेवीलाई साक्षात देवीका रुपमा पुज्ने गरिन्छ ।

त्यस्तै गरी बालाजुबाट विष्णुमतीको किनारै किनार कालिमाटितिर आउँदा बीच स्थानमा पर्ने शोभाभगवतीको पनि आफ्नै किसिमको एैतिहासिकता छ ।शोभा भगवतीको पूजाआर्चना गरेपछि मानसम्मन बढ्ने विश्वासका साथ भक्तजन दर्शनका लागि पुग्ने गरेका छन् । नवरात्रीमा विशेष मेला लाग्ने शोभा भगवतीमा दर्शनार्थीको दशैंमा ठूलो भिडलाग्ने गरेको देखिन्छ ।

डिल्लिबजारमा रहेको कालिकास्थान मन्दिरमा रहेको कालीको मुर्ति राखिएको छ । काठमाडैंमा भएको नौ वटा शक्तिपीठ मध्ये एक मानिने कालीको दर्शन गर्ने भक्तजन दिनहुँ आउने गरेका छन् ।

त्यस्तै गरी भक्तपुरको नवदुर्गा भवानीको मन्दिर ब्रहामायणी लगाएतका मन्दिरमा पनि भक्तजनको भिड लाग्ने गरेको छ । ललितपुरको बालकुमारी रहेको बालकुमारी नेवार समुदायले मान्ने देवी हुन् । बालकुमारी देवीलाई नेवारहरुले विशेष रुपमा मान्ने गरेका छन् ।

ललितपुरकै बंगलामुखी मन्दिरमा नवरात्रमा विशेष मेला लाग्ने गरेको छ । देशभरका यूवा यूवती आफ्नो प्रेम सफल होस् भनेर बंगलामुखीमाईको हरेक बिहिबार दर्शन गर्न जाने गरेका छन् । दश महाविद्या मध्ये बंगलामुखीलाई शक्तिशालीदेवी मानिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.