मेरो बुबा र म !

| 2018 Sep 09 | 07:27 am 6290

आज बाबुको मुख हेर्ने दिन! अहिलेसम्म मैले मेरो बुबाको मुख तास खेल्ने बेलामा एउटै खालमा बसियो भने र फोटोमा बाहेक राम्रोसँग हेर्न सकेको छैन। कान्छा, एउटा सिर्कानो लिएर आ’त भन्नुहुन्थ्यो बुबाले। अनि म कस्ले आज दरो भेट्ने भो भनेर दंग पर्दै सिर्कानो खोज्‍न दौडिन्थेँ। जब मख्ख‍ पर्दै सिर्कानो बुबालाई दिन्थेँ अनि मेरा पिँडुलाले दु:ख पाउँथे। पढ्ने कुरामा अल्छीको राजा थिए म। सबै बाबुहरूलाई आफ्ना छोराछोरी अब्बल हुन् भन्ने लाग्छ, मेरो बुबालाई नि त्यही लाग्थ्यो। सायद त्यो सिर्कानोले मेरो पढाइ सुध्रेला भन्ने आश नि थियो होला बुबालाई।

बुबा प्राय: घरमा थोरै समय बस्‍नुहुन्थ्यो। छ-छ महिनामा आउनुहुन्‍थ्यो। अनि धेरै चकलेटहरु र हामीलार्इ  नयाँ लुगा ल्याएर आउनुहुन्थ्यो। बुबाले आफू घर आउने खबर हाम्रो घरभन्दा करिब १० किलोमिटर टाढा एउटा टेलिफोन सेट थियो। त्यसैमा फोन गरेर खबर पठाउनुहुन्थ्यो।

मैले बुबा आउने खबर सुनेपछि गाउँभरी हल्ला पिट्दै हिँड्थेँ,- ‘मेरो बुबा आउनुहँदैछ। नयाँ लुगा ल्याउनुहुन‍्छ अनि चकलेटको बोरा ल्याउनुहुन्छ रे।’ सबैजना खिन्न हुन्थे। न त हामी कसैलाई त्यो भनेको के हो थाहा थियो न त चकलेट आउने ग्यारेन्टी नै हुन्थ्यो। अर्कोले भन्थ्यो, ‘ईस्स्, तेरा बाउ इन्डिया गए र के भो, मेरा बा आज बजार जान्छन् र चकलेट ल्याउँछन्। तँलाई नदिई खान्छु।’ मलाई बुबा भारत किन जानुहुन्थ्यो? बुबा के काम गर्नुहुन्थ्यो भन्ने थाहै थिएन। त्यो बालमस्तिष्कले त्यो जान्‍ने कोशिस पनि गरेन्। धेरै पछि, अझ भर्खरै मात्र भनौं होला, थाहा पाएँ।

तर सबैको अनुमान थियो त्यही नजिकैको बजारमा पाउने चकलेटभन्दा इन्डियाको चकलेट मिठो र ठूलो हुन्छ। अनि त गाउँभरीको दादा हुन्थेँ म। मैले भनेको कसैले टेरेन भने धाक जमाउँथेँ,- ‘पख्, मेरो बुबाले ल्याएको चकलेट तँलाई नदिई एक्लै खान्छु।’ दौंतरीहरू मेरो सेवा गर्थे त्यसपछि। यता बुबा आउनुभएपछि चकलेट भन्दा पहिले वाचा कसम खानुपर्थ्यो, झगडा गर्दिनँ, राम्ररी पढ्छु भनेर। अनि आमाले कुरा लगाइदिनु हुन्थ्यो, ‘तमी नभएका तक यो मेरो भन्याकै मान्दैन’ (हजुर नभएको बेला यसले मैले भनेको टेर्दैन)। अनि म मलिन अनुहार बनाएर टाउको झुकाएर बस्थे।

बुबाले एउटा चकलेट दिनुहुन्थ्यो। एकमात्र चकलेट पाएपछि मैले धाक लगाएको सम्झिन्थे। बोल्ने हिम्मत त थिएन। अनि नङ्ले माटो कोट्याएर घोसे मुन्टो लाएर बस्थेँ म। बुबाले अनि चकलेटको एउटा प्याकेट नै हातमा पारेर ल अब भन, ‘म नभएको बेला आमाको भनेको मान्छस् की नाइँ?’ म टाउको हल्लाउँदै सहमती जनाउँथे र फुरुङ्‍ग हुन्थे। अनि चकलेट लगेर धाक लगाएका सबै साथीहरुलार्इ बाँड्थे।

एसएलसी पास नहुञ्जेल कुनै दिन सम्झना छैन मैले मेरो बुबासँग दोहोरो कुरा गरेको। बुबाले केही भन्दा घोसेमुन्टो लाएर सुनेर बस्थेँ। आफूले केही भन्नुपर्‍यो भने आमाको शरण। कहिलेकाहीं बुबासँगै कुरा गर्नुपर्‍यो भने पिशाब चुहिएला झैँ हुन्थ्यो बोलुञ्जेल, शीर त घुँडामा पुगेको हुन्थ्यो- राणाहरूका चाकरी गर्नेहरू झुकेजस्तै।

घरमा बुबाले इन्डियाबाट फर्किदै गर्दा एउटा टेप ल्याउनु भएको थियो। जसमा क्यासेट हालेर चल्थ्यो र त्यसैमा रेडियो पनि थियो। त्यहाँ धेरै जना मिलेर गितगाउँथ्यो अनि यो रेडियो नेपाल हो, अब सुन‍्नुहोस् सात बजेको समाचार भनेर आवाज आउँथ्यो। यतिका गित गाउँने, समाचार भन्‍ने मान्छे कसरी यति सानो टेपमा अटाएका होलान् भनेर मैले त्यो फुटाएर हेरेँ। त्यहाँभित्र कोही थिएनन्। तारैतारले जेलिएको थियो र एउटा चुम्बक थियो। त्यसपछि मैले बुबाले थाहा पाउनुहुन्छ होला र अब गाली खाइन्छ भनेर धानको भकारीमा हालिदिए।

त्यही दिन आमाले धान निकाल्‍नुभयो। त्यही फुटाइएको टेप फेला पार्नुभयो। बुबाले अब त यो नसुध्रिने भो भन्दै पिट्न पनि छोड्नुभयो।

मेरो बुबालाई मेरो कति धेरै चिन्ता थियो भन्ने बुझ्न मैले एसएलसीसम्म पर्खिनुपर्‍यो। मेरो बुबा चाकरी गर्न नजान्ने मान्छे। मेरो स्कूलका कोही पनि शिक्षकले मेरो बुबालाई चिन्दैनथे। अनि मेरा काका गाविस अध्यक्ष। उहाँको प्रभाव थियो। काकाको छोरो र म सँगै एसएलसी दिने। अनि मेरो बुबा काकाको पछिपछि लुखुर लुखुर हिँड्नुहुन्थ्यो, कतै केही भन्दिन्छ कि भाइले छोराको लागि भनेर। काकालाई आफ्नै छोराको चिन्ता थियो। मलिनो अनुहार लिएर बुबा परिक्षा केन्द्रको बाहिर बस्नुहुन्थ्यो। न त उहाँले मलाई राम्रोसँग परिक्षा दे भन्नुहुन्थ्यो न त म तँपाईं चिन्ता नगर्नु बुबा भन्न सक्थेँ।

परिक्षा सकिएर बाहिर निस्किँदा मलाई काकाले सोध्नुहुन्थ्यो, ‘कस्तो गरिस् केटा?’ म टाउको हल्लाउँथेँ र भन्थेँ,- ‘राम्रो भो।’ अनि मेरो बुबा मलाई हेर्नुहुन्थ्यो चुपचाप, सायद मैले बोलेको बेला मेरो भावभङ्गीमा उहाँ सत्य र झूट खोज्नुहुन्थ्यो। एसएलसीको परिणाम आयो, मेरो गणित र अंग्रेजीमा जम्मा ३२ नम्बर आयो। बुबाले मलाई एकैशब्द गाली गर्नुभएन। आफ्नो पिडा मनमै दबाएर राख्नुभयो। म मेरो लागि भन्दा बुबाको लागि पहिलोपटक चिन्तित भएँ जब आमाले भन्नुभयो, ‘कान्छा, राम्रोसँग पढ्, आज बुबा तेरो कारणले रूनुभयो। भात पनि खानुभएन।’

मेरो बुबा र मेरो मध्यस्तकर्ता काका ठुलोबुबाका छोराहरू हुन्थे या त मेरा साथीहरू। बुबा उनीहरूसँग मेरो पढाइ, काम गराइका बारेमा सोध्नुहुन्थ्यो। अनि म बुबाले मेरो बारेमा के भन्नुभयो भनेर उनीहरूलाई सोध्थेँ। ‘हाम्रो कान्छो त जाँड पनि खाँदो हो है, खालि चौधरीगाउँ मात्र जान्छ।’ बुबाले सबैलाई सोध्ने यही प्रश्न हुन्थ्यो। मेरा साथीहरू हाँस्थे, तेरा बाउले यसो भने भनेर। मेरो बुबालाई मैले केही गर्छु, पढेर पास गर्छु भन्ने विश्वासै थिएन।

त्यसपछि मैले धेरै मिहनेत गरे र ‌+२ मा कलेज टप गरेँ । सबभन्दा धेरै अंग्रेजीमा नम्बर आएको थियो। गणित पढ्नै पर्दैनथ्यो। त्यतिबेला पनि मेरो बुबाले भन्नुभयो रे, ‘त्यस्ले पढेरै त के त्यति ल्याउँथो चोर्न पायो होला।’ काकाले, ‘हैन कान्छो खतरा भएर निस्क्यो त हउ दाइ’ भन्दा मेरो बुबा भन्नुहुन्थ्यो,- ‘के गर्छ त्यसले? सिल्ली हुने भो।’ मैले अहिलेसम्म बुबाको विश्वास जित्न सकेजस्तो लाग्दैन। जबजब म घर जान्छु, बुबाले सोध्नुहुन्छ,- ‘कस्तो छ काम। खान पुर्‍याउँछस्? घरको बारेमा सोच्नु पर्दैन?’ म शिर निहुँराउँदै भन्छु,‘मैले के हेर्नुपर्छ घर, तपाईं हुनुहुन्छ त, भाइ छ। तपाईंहरू जे गर्नुस् मलाई मञ्जुर छ’ भन्दै चाँडो भाग्‍ने कोशिस गर्छु। जे जति कुरा गर्छु आमासँग मात्र।

आजकाल मलाई अनौठो लाग्न थालेको छ। हामी सानै हुँदा बुबा ६-६ महिनामा भारत आउजाउ गरिरहनुहुन्थ्यो। त्‍योबेला भारतमा गएर कमाएर हाम्रो खर्च धानिदो रहेछ। अहिले सक्नुहुन्न र घरमै हुनुहुन्छ। हामी ठुला भयौं। बुबाले छोराहरुलाई सुख होस् भन्ने ठानेर बजारतीर बसाइँ सार्नुभयो। अनि बुबा-आमा गाउँमै बस्नुभयो । उहाँलार्इ बजारमा रमाइलो लाग्‍दैन रे। हामी (भाइ, म र बहिनी) धनगढी बस्न थाल्यौं। अहिले बुबा-आमा त्यही हुनुहुन्छ म काठमाडौं, भाइ बैंग्लोर (भारत) र बहिनी पनि एक्लै भएकोले आमाबुबासँगै बस्छ गाउँमा। सायद यसले पनि एककिसिमको दुरी सिर्जना गर्‍यो कि !

बिहान उठेर घरको फोन नम्बर थिच्दा पनि मनमा एककिसिमको डर भइरह्यो। बुबाले नै फोन रिसिभ गर्नुभयो भने के भन्ने होला? त्यस्तै भयो। मैले हेल्लो भन्न नपाउँदै बुबाले सोध्नुभयो,- ‘के छ खबर?’ मैले ठीकै छ मेरो, तपाईं सञ्चै हुनुहुन्छ? मात्र भन्न सकेँ। बुबाको जवाफ आउने बित्तिकै आमा कता जानुभयो त भनेर आमालाई खोजेँ।

आज बाबुको मुख हेर्ने दिन पनि खुलेर बुबासँग बोल्न सकिनँ। आमासँग सामान्य कुरा गरेर फोन राखेँ। खाटको सिरानीमाथि भएको बुबाको फोटोमा एकपटक हेरेँ। मेरो बुबाप्रतिको सम्मान र उहाँले मेरालागि गर्नुभएको संघर्ष र त्याग अमूल्य छ मेरा लागि। त्यसको मूल्य चुकाउने म हिम्मत पनि गर्न सक्दिनँ, भगवानले उहाँसँग दोहोरो सम्वाद गर्नसक्ने हिम्मत दिए भने कम्तिमा म र मेरो बुबालाई केही राहत हुन्थ्यो होला !

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.