‘ मन्त्रीलाई ५ मा ५ जोड्दा कति हुन्छ ? भनेर सोध्ने हो भने ११ हुन्छ भन्नु हुन्छ’ : मनोज गजुरेल

| 2018 Aug 27 | 03:00 pm 2660

काठमाडौं, भदौ ११ : आज गाइजात्रा । काठमाडौं उपत्यका सहित देशका विभिन्न स्थानमा नेवार समुदायले यो पर्वलाई मनाउने गर्छन् । पितृको सम्झनामा गाईको स्वरुप धारण गरि मनाइने यो पर्वमा नेपाली समाजमा रहेका विभिन्न पक्षमाथि व्यंग समेत गर्नेगरिन्छ ।

गाइजात्राको अवसरमा भृकुटिमण्डपमा रहेको रिपोर्टर्स क्लबमा लोकप्रिय हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेलले सरकारका मन्त्रीहरू सत्ता, शक्ति र सम्पत्तिका लागि मरिमेट्ने गरेको आरोप लगाएका छन् । नेपालमा ‘गाईजात्रा २०७५’ को अवसरमा कलाकार गजुरेलले मन्त्री र नेताले शक्ति, सत्ता र सम्पत्तिको पछि लागेको आरोप लगाउदै जनताले दुःख पाएको बताए ।

उनले भने,‘नयाँ नियम र आचार संहिताले के कति बाँध्छ, त्यो फरक कुरा हो, मैले भनेको कुरा व्यङ्ग्य पनि हो, सत्य पनि हो ।’ सरकारले लगाएको करको प्रसंग जाड्दै भने, ‘हाम्रा मन्त्रीलाई पाँच पाँच जोड्दा कति हुन्छ ? भनेर सोध्ने हो भने ११ हुन्छ भन्नु हुन्छ, ११ कसरी भयो भनेर सोध्ने हो भने करको लागि छुट्याएको भन्नुहुन्छ ।’

उनले कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वराज ज्ञानेन्द्र शाह, भारतीय प्रधानमन्त्री नरेन्द्र दास मोदी, अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्प लगायत व्यक्ति र राजधानीको जामका विषयमा व्यङ्ग्य प्रस्तुत गरेका थिए ।

प्रस्तुतिको क्रममा गजुरेलले पत्रकार धमला जहिले पनि क्यामराको अघि आइरहने विषयको व्यङ्ग्य गरे । उनले भने, ‘यो संसारमा अहिलेसम्म वैज्ञानिकहरूले धेरै कुराको अविष्कार गरे । तर ऋषि धमला खिच्न नमिल्ने क्यामरा आविष्कार गर्न सकेनन् ।’

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.