भैँसी सुन्दरी प्रतियोगिता सम्पन्‍न

रिपोर्ट नेपाल | 2019 Jan 26 | 10:38 am 2264

इनरुवा, माघ १२ : सुनसरी कोशी गाउँपालिकामा भैँसी सुन्दरी प्रतियोगिता सम्पन्न भएको छ ।

विपी स्मृति कृषि मेलाको अवसर पारेर कोशी गाउँपालिकाको आयोजनामा शुक्रबार ‘भैँसी सुन्दरी प्रतियोगिता’ सम्पन्न भएको स्थानीय समाजसेवी धर्मेन्द्र विश्वासले जानकारी दिए।

प्रतियोगितामा कोशी गाउँपालिका–३ पश्चिम कुशाहाका बिन्देशर इशरको भैँसी प्रथम, बालेश्वर परसैलाको भैँसी दोस्रो र कोशी गाउँपालिका–४ का रामरत्न यादवको भैँसी तेस्रो भएको समाजसेवी विश्वासले जानकारी दिए।

विजेता भएका भैँसी धनीलाई गाउँपालिकाले क्रमशः रु २५ हजार, १५ हजार र रु १० हजार नगद पुरस्कार दिने गाउँपालिकाका अध्यक्ष एयुव अन्सारीले बताए। प्रतियोगितामा प्रथम भएका भैँसी धनीलाई इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले भैँसी नै पुरस्कार दिने घोषणा गरेका छन्।

प्रतियोगितामा कोशी गाउँपालिका क्षेत्रभित्रका करीब दुई सयभन्दा बढी भैँसीलाई सहभागिता गराइएको थियो । कार्यक्रमअन्तर्गत शनिबार गाई सुन्दरी प्रतियोगिता गर्ने आयोजकले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.