लण्डन, असार २६: बेलायतका विदेश मन्त्री बोरिस जोनसनले पदबाट राजिनामा दिएका छन्।
बेलायती प्रधानमन्त्रीको कार्यालय डाउनीङ स्ट्रीटले जानसोनले पेश गरेको राजिनामा सोमबार स्वीकृत गरिएको एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ ।
ब्रेजिक्ट मन्त्रीले राजिनामा दिएको केही घण्टापछि विदेश मन्त्रीले पनि राजिनामा दिएका हुन्। बेलायतका ब्रेजिक्ट मन्त्री डेभिड डेभिसले सोमबार नै मन्त्री पदबाट राजिनामा दिएको विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन्।
प्रधानमन्त्रीको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “विदेश मन्त्रीको पदबाट बोरिस जोनसनले दिएको राजिनामा प्रधानमन्त्रीबाट स्वीकृत भएको छ ।” प्रधानमन्त्री टरिजा मेको मन्त्रिपरिषद्मा रहेका डेभिस र जोनसनले राजीनामा दिएपछि बेलायतमा नयाँ राजनीतिक तरङ्ग पैदा भएको छ।
युरोपेली संघबाट बेलायतको बहिर्गमन विषयमा वार्ता गर्ने जिम्मेवारी पाएका मन्त्रीहरुको राजिनामाले बे्रक्जिटसम्बन्धी मुद्दालाई प्रभाव पार्ने अनुमान गरिएको छ । इयुसँगको भावी व्यापार सम्बन्धका विषयमा बेलायतले एउटा नयाँ प्रस्ताव ल्याएकोमा त्यसको दुई दिनपछि नै उहाँहरुको राजीनामा आएको हो ।
ब्रेक्जिट वार्ताहरूको विषयमा कैयौँ पटक प्रधानमन्त्री मेले लिएका अडानहरूबारेमा उनीहरुको मतभेद पनि भएको बताइएको छ।
ब्रेजिक्टको बारेमा बेलायतमा भद्रगोलको अवस्था रहेको र प्रधानमन्त्री मेसँग ब्रेक्जिटको बारेमा सही र समर्थन बाँकी नरहेको लेबर पार्टीका प्रमुख इयान लेभरीले बताउनु भएको छ ।
ब्रेक्जिटको विपक्षमा रहेको कन्जरभेटिभ पार्टीका नेताहरुले भने उनीहरुको राजिनामाको स्वागत गरेका छन्।
प्रधानमन्त्री मेले राजिनामा दिएका मन्त्रीहरूलाई विगतको काम र सहयोगका लागि धन्यवाद दिदै चाडै नै उनीहरूको ठाउँमा नयाँ मन्त्री नियुक्त हुने जानकारी दिएका छन्।