कैलाली, पुस १० : धनगढी विमानस्थल आठ दिनका लागि बन्द हुने भएको छ विमानस्थलको धावनमार्ग मर्मतका लागि आठ दिनसम्म विमानस्थल बन्द हुने जनाइएको छ।
धनगढी विमानस्थल राजधानी काठमाडौंसँग सुदूरपश्चिम प्रदेशलाई हवाई यातायातमार्फत जोड्ने प्रमुख विमानस्थल हो। धनगढी नागरिक उड्डयन कार्यालयका प्रमुख तेजबहादुर बुढथापाका अनुसार विमानस्थलको कुल लम्बाईको दुई सय ५० मिटर धावनमार्ग मर्मत गर्नुपर्ने भएकाले आठ दिनसम्म बन्द हुने छ।
नागरिक उड्डयन कार्यालय प्रमुख बुढथापाले पुस १० गतेदेखि १७ गतेसम्म बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म विमानस्थल बन्द गरेर धावनमार्ग मर्मत गरिने जानकारी दिए। धनगढीमा काठमाडौंबाट बुद्ध र श्री एयरलाइन्सले बिहान र साँझ गरेर दैनिक दुई/दुई वटा र नेपाल एयरलाइन्सले दैनिक एक उडान भर्दै आएका छन्।
काठमाडौं–धनगढी–काठमाडौं रुटको हवाई उडानबाट दैकि करिब सात सय जनाले सेवा पाइरहेका छन् । बुद्ध एयरले भने हरेक दिन साँझ ६:३० बजे धनगढीबाट काठमाडौं उडान भर्ने योजना बनाएको छ । बुद्ध एयरका धनगढी शाखा प्रमुख बुधराम माझीले हरेक दिन साँझ उडान भर्ने पुष्टी गरे ।