दीपक मनाङेलाई नायिका खोज्न ‘बाघचाल’को अडिसन

रिपोर्ट नेपाल | 2023 Jun 12 | 12:47 pm 965

काठमाडौं । गण्डिकी प्रदेशका साँसद राजीव गुरुङ(दीपक मनाङे)ले चलचित्र ‘बाघचाल’मा नायकको रुपमा मुख्य भूमिका निर्वाह गर्दैछन् । यो चलचित्रमा उनी र अर्का नायक सविन श्रेष्ठ रहने छन् । अहिलेका चल्तीका नायिकाहरुले दीपक मनाङेको नायिका बन्न इच्छा नदेखाएपछि निर्माण पक्षले उनको नायिका खोज्न सुरु गरेको छ ।

फिल्मको मुख्य नायिकाको खोजी भन्दै निर्माण पक्षले नयाँ अनुहारको लागि विज्ञापन आह्वान गरेको छ । नायिका बन्न चाहनेहरुले भिडियो सुट गरेर पठाउन आह्वान गरेको थियो । यो डिजिटल अडिसनमा देश तथा विदेशमा रहेका नेपाली महिलालाई लक्षित गर्दै डिजिटल अडिसन आव्हान गरेको हो ।

यो अडिसनमा १ सय ५१ जना सहभागी भएका छन् । दीपक मनाङेको नायिका बन्नका लागि यतिधेरै युवतीहरुले आफ्नो तस्बिर तथा भिडियो क्लिपहरु पठाईसकेको निर्माण पक्षले जनाएको छ । यस अघि निर्माण पक्षले दुई दिनको अडिसन प्रत्यक्ष रुपमा समेत लिईसकेको छ । बाँकी कलाकारहरुको लागि पनि शनिबार र आईतबार इच्छुक कलाकारले अडिसन दिएका छन् । जस मध्यबाट छुट्टै सात जना कलाकार पनि छानिने छन् ।

यस्तै सोही प्रत्यक्ष अडिसिनमा मुख्य नायिकाको लागि पनि केहीले अडिसन दिएका छन् । यसरी प्रत्यक्ष लिइएको अडिसन र डिजिटल अडिसनमा सहभागी भएका युवतीहरु मध्यबाट एक जनालाई मुख्य अभिनेत्रीको रुपमा चयन गरिने निर्माण पक्षको कथन छ । अडिसन दिएकाहरु मध्यबाट यो फिल्ममा दीपक मनाङेको नायिकाको घोषणा १० असारमा गरिने भएको छ ।

चलचित्र बाघचाललाई सम्राट बस्नेतले निर्देशन गर्ने भएका छन् । उनी द्वन्द्व निर्देशक पनि हुन् । यो चलचित्र एक्सन प्रधान जनरामा निर्माण हुने निर्देशक बस्नेतले बताएका छन् ।

राजीव गुरुङ(दीपक मनाङे)को प्रस्तुतिमा निर्माण हुने फिल्ममा कलाकारका रुपमा सांसद राजीव गुरुङ(दीपक मनाङे), सबिन श्रेष्ठ यसअघि नै फाइनल भइसकेका छन् ।

यो फिल्मलाई उत्तरगया म्यूजिक एण्ड फिल्मस्बाट दिपक मनाङेले, सबिन फिल्मस्को व्यानरबाट सबिन श्रेष्ठले र न्यू लक्ष्मी ज्वेलर्स(यूके)ले सँयुक्त लगानीमा निर्माण गर्दैछन् । फिल्मका अरु निर्माताहरुमा धनबहादुर गुरुङ (डिबी), टिकाराम भण्डारी, समिर शाही (अष्ट्रेलिया) र कृष्ण थापा (अष्ट्रेलिया) छन् । (राजधानीबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.