टिपरको ठक्करबाट बालिकाको ज्यान गएपछि ७ टिपरमा आगजनी, निषेधाज्ञा जारी

| 2019 Jan 28 | 02:48 pm 2598

विराटनगर, माघ १४  : टिपरको ठक्करले एक बालिकाको ज्यान गएपछि विराटनगरमा अवस्था तनावग्रस्त भएको छ । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा ९ स्थित सिसौघारीमा आज बिहान टिपरले ठक्कर दिँदा सोही वडाकी ११ वर्षीया बालिकाकाे ज्यान गएको थियो ।

ना३ख ३३५५ नम्बरको उक्त टिपरको ठक्करले बालिका लक्ष्मी ढकालको ज्यान गएपछि स्थानीयले आगजनी गरेका छन् । तीव्र गतिमा आइरहेको टिपरले बाटो काट्दै गरेकी बालिकालाई ठक्कर दिएको थियो । बालिकाको घटनास्थलमै ज्यान गएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

सो घटनापछि आक्रोशित स्थानीयको भीडले टिपरमा अन्धाधुन्ध अागजनी गरेका छन् । साथै उनीहरुले सडकमा टायर बालेर प्रदर्शन गरेका छन् ।

यसक्रममा विराटनगर-विराटचाै सडकखण्डमा कुनै पनि सवारीसाधन चलेका छैनन् । ठक्कर दिएर भाग्दै गर्दा टिपर आफै एउटा रुखमा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो । त्यसपछि स्थानीयले आगजनी गरेका हुन् । तर आक्राेशित भीडले ठक्कर दिने टिपरका अतिरिक्त अन्य ६ टिपरमा समेत आगजनी गरेका छन् ।

स्थानीयको प्रदर्शनले सवारी आवागमन ठप्प छन् । प्रदर्शनकारीले प्रहरीमाथि समेत ढुंगामूढा गरेपछि स्थिति थप तनावग्रस्त बनेको हो । उनीहरुले टिपर आतंक रोक्नुपर्ने माग गर्दै नाराजुलुश गरेका छन् ।

स्थिति नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय बेलबारी, पथरी, उर्लाबारी लगायतका स्थानबाट खटाइएको ठूलो संख्यामा प्रहरी घटनास्थल पुगेका छन् । साथै घटनास्थलमा निषेधाज्ञा जारी गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.