इरान भूकम्प : ७.३ म्याग्नीच्यूडको भूकम्प, दुईको मृत्यु २४१ घाइते

रिपोर्ट नेपाल | 2018 Aug 26 | 04:42 pm 2228

तेहरान,  भदौ १० :  इरान–इराक सीमानजिक आइतबार बिहानै गएको ६.० म्याग्नीच्यूडको शक्तिशाली भूकम्पबाट दुई जनाको मृत्यु हुनुका साथै २०० भन्दा बढी घाइते भएको स्थानीय अधिकारीहरुले जनाएका छन् ।

अमेरिकी भूगर्भीय सर्भेका अनुसार, भूकम्पको केन्द्र इरानको कर्मान्शाह प्रान्तको जभानरुड सहरबाट २६ किलोमिटर पश्चिततर्फ थियो । गत वर्ष यही स्थानमा गएको शक्तिशाली भूकम्पबाट सयौंको ज्यान गएको थियो ।

कर्मान्शाह विश्वविद्यालय शिक्षण अस्पतालको आपतकालीन विभागका प्रमुख साइब शारिदारीले दुई जनाको मृत्यु भएको र २४१ जना घाइते भएको जानकारी दिनुभयो । घाइतेमध्ये ६ जनाको अवस्था चिन्ताजनक छ । रेड क्रिसेन्टका प्रान्तीय प्रमुख मोहम्मद रेजा अमिरियानले भूकम्पका कम्तीमा २१ वटा परकम्प महसुस गरिएको जानकारी दिए ।

उनले गाउँमा पूर्वाधारमा व्यापक क्षति पुगेकाले खानेपानीको गम्भीर समस्या देखिएको, तर खाद्यान्न र टेन्टहरु भने वितरण गर्नुपर्ने अवस्था नरहेको जानकारी दिए । कर्मान्शाहका गभर्नर हाउशाङ बाजभान्डले भूकम्प गएपछि धेरै गाउँमा अस्थायी रुपमा विद्युतसेवा कटौती गर्नुपरेको जानकारी दिए । उनले आपतकालीन केन्द्रहरु खोलिएको, र अस्पताल तथा राहत संस्थाहरुलाई सावधानी अपनाउन भनिएको बताए ।

गत वर्ष नोभेम्बरमा यही क्षेत्रमा ७.३ म्याग्नीच्यूडको भूकम्प गएको थियो । भूकम्पमा परेर कर्मान्शाह प्रान्तमा मात्र ६२० जनाको मृत्यु भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.