आगलागी नियन्‍त्रणका लागि एक लाख लिटरको ट्याङ्की निर्माण

रिपोर्ट नेपाल | 2018 Oct 18 | 09:11 am 1832

खोटाङ, कार्तिक १: आगलागी नियन्त्रण गर्न प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा एक लाख लिटर पानी सञ्चित गर्न सकिने पानी ट्याङ्कीसहितको आधुनिक धारा निर्माण गरिएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको रु २५ लाख ८७ हजार ५०० लगानीमा दिक्तेलस्थित अस्पताल चोकमा सुविधायुक्त धारासहितको पानी ट्याङ्की निर्माण गरिएको हो ।

बजारक्षेत्रको पुरानो तथा विभिन्न जातजातिको मृत्यु संस्कारमा उपयोग हुँदै आएको मूलधारालाई स्तरोन्नति गर्दै आधुनिक धाराका रुपमा विकास गरिएको नगर प्रमुख दीपनारायण रिजालले बताए । “उक्त ट्याङ्कीमा सङ्कलन भएको पानी तत्काल उपलब्ध गराउन सकिन्छ”, उनले भने, “नगर क्षेत्रभित्र हुन सक्ने आगलागीका घटनालाई तत्काल नियन्त्रण गर्न पानी सञ्चित केन्द्र निर्माण गरिएको हो ।”

नवनिर्मित धाराको माथिल्लो भागमा किरियापुत्री बस्ने व्यवस्थित संरचना एवं स्नानस्थल, पानी तताउने ग्यास गिजरसमेतको सुविधा मिलाइएको छ । वर्षौदेखि जीर्ण अवस्थामा रहेको मूलधारालाई पछिल्लो समय सुविधायुक्त बनाइएपछि स्थानीय उपभोक्ता हर्षित भएको निर्माण उपभोक्ता समितिका सचिव दधिराम श्रेष्ठले बताए ।

पानी सञ्चित नहुँदा यसअघि दिक्तेलस्थित रत्नपार्कमा भएको आगलागीमा ठूलो क्षति भएको थियो । नगरपालिकामा दमकल भए पनि सञ्चित पानी नहुँदा बजारमा विस्तार गरिएको पाइप काटेर पानी प्रयोग गरी आगलागी नियन्त्रण गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.