अमेरिकी दूतावासमा गोली प्रहार, दुर्इ जना पक्राउ

रिपोर्ट नेपाल | 2018 Aug 21 | 08:35 am 2290

अङ्कारा, भदौ ५: टर्कीमा रहेको अमेरिकाको दूतावासमा सोमबार गोली प्रहार भएको छ । प्रहारमा संलग्‍न भएको आरोपमा दुर्इ जनालार्इ नियन्त्रणमा लिएको छ।

घटनामा परी कुनै मानवीय क्षति भने नभएको अमेरिका र टर्की दुवै तर्फका अधिकारीहरूले जानकारी दिएका छन् ।

टर्कीका एक जना सरकारी अधिकारीका अनुसार दूतावासमा छ ओटा गोली प्रहार भएको थियो । गोली फलामे ढोका र दूतावासको भित्तामा लागेको थियो । दूतावासमा प्रवक्ता डेभिड गाइनरले घटनास्थललाई अहिले सुरक्षाकर्मीले आफ्नो नियन्त्रणमा लिइसकेको एएफपीलाई बताए।

“घटनामा परी कोही घाइते भएको वा कसैको मृत्यु भएको विवरण छैन, हामीले घटनाका बारेमा विस्तृतमा अध्ययन गर्न लगाइसकेका छौँ, टर्कीको सुरक्षाकर्मीलाई विशेष धन्यवाद दिन चाहन्छौँ,” प्रवक्ताले भने ।

टर्कीका विदेशमन्त्री मेवलुट काभुसोग्लुले सामाजिक सञ्जाल ट्वीटरमार्फत् ‘उत्तेजनात्मक आक्रमण’को निन्दा गरेका छन्। अमेरिकी धर्मगुरुको रिहाइका लागि इस्तानबुलद्वारा राखेको शर्त अस्वीकार गरेकै बेला यस्तो घटना भएको हो ।

अमेरिकी प्रतिवन्धका बावजुद पनि टर्कीको हल्क नामक बैङ्कले इरानलाई सहयोग गरेको आरोपमा उक्त बैङ्कमाथि अनुसन्धान गरिरहेका समय टर्कीले आफ्नो भूमिमा बन्दी जीवन विताइरहेका अमेरिकी धर्मगुरु एन्ड्रु ब्रुन्सोन तथा अन्य अमेरिकी नागरिकको रिहाईका लागि उक्त शर्त राखेको थियो ।

टर्कीविरुद्ध हुनेगरी गतिविधि गरेको आरोपमा धर्मगुरुसहित केही अमेरिकी नागरिकलाई बन्दी बनाइएको छ । जसका कारण टर्की र अमेरिकाबीच व्यापारयुद्ध नै चलेको छ । जसको प्रभाबले टर्कीको मुद्रामा केही समयमा नै ब्यापक गिरावट आएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.