रूसी सेनामा भर्ती भएकाका आफन्त भन्छन् : बरु कमाइ चाहिएन, सास जोगाइदेऊ

रिपोर्ट नेपाल | 2024 Feb 06 | 08:33 am 157

काठमाडौँ, माघ २३। असोज १५ मा रूस पुगेका खोटाङका सुमन राई भोलिपल्टै रूसी सेनामा भर्ना भए। तर, त्यहाँको पीडादायी अवस्था देखेर साढे एक महिनामै स्वदेश फर्के। ‘आफ्नै आँखाले देखेका क्रूर दृश्य सहन नसकेर भागेर नेपाल आएँ,’ सुमनले भने। उनीसँगै रूसी सेनामा ८ सय नेपाली भर्ना भएको उनले सुनाए।

रूसी फौजमा ज्यान गुमाएका र बेपत्ता भएकाका परिवारको आवाज सुनाउनका लागि आयोजना गरिएको पत्रकार सम्मेलनमा सुमनले भने, ‘सुकेधाराको मेनपावरमार्फत भिजिट भिसामा रूस पुगें। भोलिपल्ट भर्ना पनि भएँ। तर, एक महिना १८ दिनमा स्वदेश फर्किन सफल भएँ।’ आँखैअगाडि ६ जना मरेको दृश्यले त्यहाँबाट कसरी भाग्ने भनेर योजना बनाएको उनले बताए। ‘आठ लाख ऋण गरेर रूस पुगेको थिएँ,’ उनले भने, ‘भागेर आउन थप तीन लाख तिरेँ।’

युक्रेनसँगको लडाइँमा मरेकालाई रूसी सेनाले छोडेर हिँड्ने गरेको उनले बताए। ‘मरेपछि लाससमेत उठाउँदैनन्,’ उनले भने। रूसी सेनामा नेपालीमात्र नभई मंगोलियन, भारतीय र चिनियाँ नागरिक पनि भर्ना भएको उनले बताए।

सुमनको दुबईमा साढे दुई लाख मासिक कमाइ हुन्थ्यो। त्यो जागिर छोडेर राम्रो कमाइको लोभमा रूसी सेनामा भर्ना भएका थिए। ‘पैसाको धेरै लालच गर्दा पनि हामी सोझा नेपालीहरू फसेको जस्तो लाग्यो,’ सुमनले भने, ‘त्यहाँ पनि रूखमा पैसा त फल्दैन। चार, पाँच महिना काम गरेको पैसासमेत दिएको छैन। अरू कुरा के गर्नु र ?’

सुमनले रूसमा १५ हजार हाराहारी नेपाली भर्ना भएको बताए। चार सयभन्दा बढीले ज्यान गुमाएको हुन सक्ने उनको आंकलन छ।

नारायण खड्गीका साढुभाइ रामकुमार प्रधान दुबईको १ लाख २० हजारको जागिर छोडेर ७ लाख खर्च गरी रूस पुगे। खड्गीले भने, ‘दुबईमा राम्रै थियो। दलालको भनाइमा लागेर अभैm राम्रो कमाउने आसमा रूसी सेनामा जानुभएको हो। २५ दिनदेखि सम्पर्कविहीन हुनुहुन्छ।’

प्रधानको परिवार तनावमा छ। भए सास नभए लास भए पनि खोजिदिन परिवारले सरकारसँग आग्रह गरिरहेको छ। प्रधानको परिवारले उनीसँगै बंकरमा बसेका साथीहरू भएको ठाउँमा बम हानेको र साथीहरू घाइते भएको सुनेका छन्। राम सकुशल छन् कि घाइते छन् भन्ने कुनै खबर पाएका छैनन्। ‘घाइतेहरू सबै एकै ठाउँमा पनि छैनन्। अहिलेसम्म सम्पर्क भएकामध्येका सँग हाम्रो भाइ सम्पर्कमा हुनुहुन्न,’ नारायणले भने।

खोटाङकी शिला राईका दाइ रविन १० लाख खर्च गरेर रूसी सेनामा भर्ती हुन गएका थिए। ६ महिनाअघि उनी रूस गएका हुन्। गरिबीकै कारण बिदेसिन बाध्य भएका रविन घाइते भएर हस्पिटलमा उपचाररत छन्। उनी २१ दिनदेखि हस्पिटलमा छन्। अहिले परिवारसँग अडियो कल र थोरै मेसेजमा मात्र उनले कुरा गर्दै आएका छन्। रविनकी बहिनी शिला भन्छिन्, ‘दाइ भन्ने गर्नुहुन्थ्यो। यहाँ त सिनियर अफिसरहरूले मानवीयता व्यवहार नै नगर्दा रहेछन्। साह्रै कष्ट हुने रैछ। यहाँ भएका नेपाली दाजुभाइहरूले एकदमै दुःख पाउनुभएको छ।’

उनले अगाडि भनिन्, ‘दाइ अब कहिलेसम्म हस्पिटल बस्नुपर्ने हो त्यो पनि थाहा छैन। दाइलाई पनि थाहा छैन। एकदमै अन्योलको अवस्था छ। नेपाल सरकार र रसियाको एनआरएनलाई कम्तीमा नेपाली भएको नाताले पनि सहयोग गरिदिन अनुरोध गर्दछु।’

नुवाकोटकी चिनीमाया तामाङका पति पनि रूस पुगेको ६ महिना लाग्यो। दुई महिनायता पतिको अत्तोपत्तो छैन। सात लाख खर्च गरेर उनका पति रूसी सेनामा भर्ती हुन पुगेका थिए। यता तीन जना साना छोराछोरीको जिम्मेवारी उनको काँधमा छ। अब ती साथमा भएका छोराछोरीको लालनपालन कसरी गर्ने भन्ने चिन्ता उनलाई छ। कसैले पतिको बारेमा सोध्दा उनि भक्कानिन्छिन्। भन्छिन्, ‘सबैले सोध्ने प्रश्न एउटै हुन्छ। कति भयो सम्पर्क नभएको ? यस्तै हो। उद्घार गरेर ल्याइदिने विषयमा अहिलेसम्म कहीँ कतैबाट आश्वासन पाएका छैनौं। जाँदा सरकारसँग कुनै सल्लाह नभए पनि अब जिउँदै नेपाल फर्काइदिन पहल गर्न अनुरोध गरिदिन आग्रह गर्छु।’

काठमाडौं कलंकीकी टीका विकका छोरा असोजको २८ गते दुबईबाट रूसी सेनामा भर्ती हुन गएका थिए। दुबई गएको सात, आठ महिनापछि उतैबाट प्रयास गरेर उनका छोरा विपिन विक भर्ती हुन गएका थिए। ‘दुबईबाट महिना महिनामा सामान र पैसा सबै पठाउँथ्यो। छोराले सबै व्यवहार राम्रै गरेको थियो। कताबाट उसलाई रूस जाने सोच बनायो।’ उनले भनिन्, ‘छोरा सकुशल नै रहेको सूचना सुनाउँछन्। तर दुई महिनादेखि उनका छोरा प्रत्यक्ष सम्पर्कमा भने आएका छैनन्।’

१,७२९ जना नेपाली रूस पुगेको तथ्यांक

रूसले अन्य देशबाट आएर बसेका र विदेशी नागरिकलाई पनि सेनामा भर्ती लिने घोषणा गरेसँगै दलालमार्पmत रूसी सेनामा भर्ती हुन जाने नेपालीको क्रम तीव्र भयो। जसको परिणाम अहिले न यकिन तथ्यांक छ। न त्यहाँ जाने नेपालीको कुनै खबर छ। खालि पीडा र चित्कारमात्र सुनिन थालेका छन्।

रूसी सेनाका लागि रेड जोनका रूपमा रहेको बाखमुट र डोनेक्स निकै असुरक्षित क्षेत्र मानिन्छ जसलाई रूसले कब्जा गरेको हो। युक्रेनी फौजले आफ्नो क्षेत्र फिर्ता लिन निरन्तर ड्रोनबाट मिसाइल आक्रमण गरिरहन्छ। त्यसलाई नियन्त्रणमा राख्न ठूलो संख्यामा रूसी फौज त्यहीँ केन्द्रित छ।

२०७८ फागुनदेखि रूस–युक्रेन युद्ध सुरु भएको हो। युद्ध चलिरहँदा २०७९ साउनमै नेपालको परराष्ट्र मन्त्रालयले सार्वजनिक सूचना प्रकाशित गर्दै रूसी सेनामा भर्ती नहुन अनुरोध गरेको थियो। उक्त सूचना जारी गरेको करिब चार महिनापछि मंसिरमा त्यहाँ कार्यरत तीन नेपालीको मृत्यु भएको सूचना आयो।

श्रम स्वीकृति लिएरै जाने पनि अन्य बाटोबाट रूसी सेनामा पुगेको सूचना व्यापक हुँदै गएपछि गत पुस १९ मा मात्र सरकारले रूस र युक्रेनका लागि श्रम स्वीकृति रोकेको सूचना जारी गर्‍यो।

रूसमा पढ्न गएका नेपाली विद्यार्थीसमेत सेनामा भर्ती भएको अवस्था छ। सेनामा भर्ती हुन सुरुमा विद्यार्थी भिसामा गएका भए पनि अहिले भने भ्रमण भिसामा जाने गरेका छन्। यो संख्या दैनिक बढेको छ।

रूसमा युद्घ सुरु भएयता मात्रै १ हजार ७ सय २९ जना नेपाली त्यहाँ पुगेको देखिन्छ। यो संख्यामा कति थपघट भए भन्ने अहिले कुनै तथ्यांक अपडेट सरकारसँग छैन।

नेपालीहरू रूस जान मरिहत्ते गर्ने प्रमुख कारण भने छोटो समय काम गर्दा रूसी राहदानी प्राप्त गर्ने। अर्को महिनामा चार लाख कमाइ हुने भनिएको छ। तर, त्यहाँ पुगेका नेपालीले चार, पाँच महिनासम्म पनि तलब नपाएको गुनासो बढ्दै गएको छ।

सरकार के भन्छ ?

परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईका अनुसार मस्कोस्थित नेपाली राजदूतावासले रूसी सेनामा भर्ना भएका १२ जना नेपालीको मृत्यु भएको जानकारी दिएको छ। त्यसबाहेक रूस सरकारले कुनै अवगत गराएको छैन। राई भन्छन्, ‘खाडी मुलुकबाट रूसी सेनामा जानेहरूको संख्या बढी छ। सयौंको संख्यामा छ। हजारौंको सूचना आएको छ। त्यो भने हैन भन्ने लाग्छ।’ ‘नेपाल सरकारले रूस जान पूरै प्रतिबन्ध लगाएको छ। जति पनि जानेको कुरा छ। उहाँहरू आफ्नै हिसाबले जानु भएको हो। तर पनि सरकार सकेसम्म सम्पर्कमै बसेको छ। आफ्नो तर्पmबाट उद्घारमा लागिरहेकै छ,’ उनले भने।

(अन्नपुर्णबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.