काठमाडौँ, फागुन २८। ७१औं संस्करणको ‘मिस वर्ल्ड-२०२४’को उपाधि चेक रिपब्लिककी क्रिस्टिना पिजकोवाले चुम्नुभएको छ । शनिबार साँझ भारतको मुम्बईस्थित जियो वल्र्ड कन्वेन्सन सेन्टरमा सम्पन्न प्रतियोगितामा पिजकोवाले उपाधि चिुम्नुभएको हो ।
क्रिस्टिनालाई ‘मिस वर्ल्ड-२०२३’ पोल्याण्डकी करोलिना विलावस्काले ताज पहिराइदिनुभयो । प्रतियोगितामा लेबनानकी यास्मिना फष्ट रनअप हुनुभयो । प्रतियोगिताको उत्कृष्ट चारमा मिस त्रिनिदाद एण्ड टोबैगो, मिस बोत्सवाना, मिस चेक रिपब्लिक र मिस लेबनान पुगेका थिए ।
सन् २०२३ को मिस वर्ल्डको उपाधि जितेपछि पाइस्कोभाले मुम्बईमा मिडियासँग भन्नुभयो, ‘म धेरै उत्साहित छु । मिस वल्र्ड एउटा यस्तो चिज हो, जसका लागि मैले धेरै मिहिनेत गरिरहेकी थिएँ । मलाई थाहा छ-मिस वर्ल्ड प्लेटफर्मले हामीलाई महत्वपूर्ण ठानेका मुद्दाहरूका लागि बोल्ने क्षमता दिन्छ । जहाँसम्म मेरो कुरा छ, म सकेसम्म धेरै बच्चाहरूलाई मद्दत गर्नेछु ।’
यसपटकको प्रतियोगितामा १२ निर्णायक थिए । भारतमा २८ वर्षपछि यो प्रतियोगिता भएको हो । प्रतियोगिताको होष्ट करण जोहर र फिलिपिन्सकी मिस वल्र्ड २०१३ मेगन यङ रहनुभएको थियो । भारतकी सिनी शेट्टी यस प्रतियोगितामा सातौं स्थानमा रहनुभयो ।
यसअघि सन् २०२३ को नोभेम्बरमा एल साल्भाडोरमा आयोजित मिस युनिभर्स-२०२३ प्रतियोगिताको विजेता निकारागुआकी शेनिस पलासियोस हुनुभएको थियो ।
यो प्रतियोगिता यसअघि सन् २०२३ को मेमा संयुक्त अरब इमिरेट्समा आयोजना हुने भनिएको थियो । तर, त्यसबेला स्थगन भएपछि यो प्रतियोगिता भारतमा सेप्टेम्बरमै गर्ने घोषणा भएको थियो । तर, केही कारण डिसेम्बर र त्यसपछि मार्चमा आयोजना गर्ने निर्णय भयो । अब ७२औं मिस वर्ल्ड प्रतियोगिता २०२५ मा आयोजना हुनेछ ।
नेपालले ७१औं मिस वर्ल्डमा उत्कृष्ट ४० सम्मको यात्रा तय गर्न सफल भएको छ । मिस नेपाल वल्ड २०२२ प्रियंकारानी जोशी क्वार्टरफाइनलबाट बाहिरिनुभएको थियो । प्रतिस्पर्धामा नेपाल ‘ब्युटी विथ अ पर्पस’ विधामा एसिया महादेशबाट विजेता बन्यो । यो विधामा जितसँगै प्रियंकाले उत्कृष्ट ४० अर्थात् क्वार्टरफाइनलसम्मको यात्रा तय गर्नुभएको थियो । ‘ब्युटी विथ अ पर्पस विधा’मा भने ब्राजिल समूह विजेता बन्यो । यद्यपि, प्रियंका उत्कृष्ट ४० बाट उत्कृष्ट १२ मा भने अटाउन सक्नुभएन ।
मिस वल्र्डको उत्कृष्ट ४० मा नेपालसहित बोत्सवाना, नाइजेरिया, जिम्बाब्वे, इंग्ल्याण्ड, लेबनान, क्राएशिया, मार्टिनिक, ट्युनिसिया, युक्रेन, युगाण्डा, ब्राजिल, भियतनाम, बेलिज, क्यानडा, डोमिनिकन रिपब्लिक, पेरू, पुर्टो रिको, त्रिनिडाड एण्ड टोबागो, क्यामरुन, मदागास्कर, मरिसस, केन्या, सोमालिया, दक्षिण अफ्रिका, दक्षिण सुडान, तान्जानिया, अष्ट्रेलिया, भारत, इण्डोनेसिया, मलेसिया, न्युजिल्याण्ड, टर्की, बेल्जियम, चेक रिपब्लिक, फान्स, जिब्राल्टर, इटाली, स्पेन तथा वेल्यका सुन्दरीहरू पुग्न सफल भएका थिए ।
त्यसैगरी, उत्कृष्ट १२ मा भने ब्राजिल, डोनिमिक रिपब्लिक, त्रिनिडाड एण्डा टाबागो, बोत्सवाना, मरिसस, युगाण्डा, चेक रिपब्लिक, इंग्ल्याण्ड, स्पेन, अष्ट्रेलिया, भारत तथा लेबनानका सुन्दरीहरू पुग्न सफल भएका थिए ।
यसपटक प्रत्येक महादेशबाट विजेता चयन गरिएको थियो । यो संस्करणको मिस वर्ल्डबाट महादेशीय विजेता चुन्ने नयाँ अभ्यास सुरु भएको हो ।
(हिमालय टाइम्सबाट)