माओवादी उपाध्यक्ष महरालाई काठमाडौं ल्याइयो

रिपोर्ट नेपाल | 2024 Mar 18 | 12:39 pm 641

काठमाडौं, ०५ चैत / पूर्वसभामुख तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरालाई काठमाडौं ल्याइएको छ । सुन तस्करी प्रकरणमा नाम जोडिएका कारण अनुसन्धानका लागि प्रहरीले उहाँलाई नियन्त्रणमा लिएको हो ।

सर्वाेच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा गठित सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले पूर्वसभामुख महरामाथि छानबिन गर्न सिफारिस गरेसँगै थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो ।

गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका र जाँचबुझ आयोगले कारबाहीको सिफारिस गरेका सबैमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरी नेतृत्वलाई निर्देशन दिएका थिए ।

यस अघि सोही प्रकरणमा महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले बयान लिएर कागज गरेर छाडेको थियो ।

गत साउन २ मा ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ साल पुसमा विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको नौ किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष महराको नाम जोडिएको थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.