ब्रेक्जिट सम्झौतासम्बन्धी जनमत संग्रह माग गर्दै प्रदर्शन

रिपोर्ट नेपाल | 2018 Jun 24 | 08:36 am 4195

लन्डन – युरोपेली संघबाट बाहिरिने बेलायतको निर्णय (ब्रेक्जिट)लाई लिएर बेलायत सरकारले अन्तिम जनमत लिनुपर्ने भन्दै युरोपेली संघ समर्थक करिब एक लाख मानिसले शनिबार मध्ये लन्डनमा प्रदर्शन गरेको आयोजकले बताएका छन्।

जनमत संग्रहको माग गर्न बेलायत, आयरल्यान्ड र युरोपेली झन्डा र रंगीविरंगी ब्यानरसहित भेला भएको प्रदर्शनकारीको समूहले राजधानीको प्रमुख क्षेत्र भरिएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । विश्वकै सबैभन्दा ठूलो व्यापारिक ब्लक युरोपेली संघबाट बाहिरिने बेलायती निर्णयका लागि जनमत संग्रह आवश्यक रहेको भन्दै उनीहरुले प्रदर्शन गरिएको बताइएको छ।

ब्रेक्जिटको पक्षमा ५२ र ब्रेक्जिटको विरुद्धमा ४८ प्रतिशतले मतदान गरेको निर्वाचनको दुई वर्ष पुगेको अवसरमा ब्रेक्जिट विरोधीले राजधानी लन्डनमा विशाल प्रदर्शन गरेको आयोजकलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ।

‘जनमत संग्रह’ अभियानमा कैयौं युरोपेली संघ समर्थक समूहको सहभागिता रहेको बताइएको छ। ‘हाम्रो जीवनलाई प्रभावित पार्ने र देशलाई राम्रो वा अझै खत्तम पार्ने भनेर हामीले आफैले निर्णय गर्न पाउनु पर्छ भन्दै जनमत संग्रहको माग गरिएको हो,’ प्रदर्शनमा उत्रिएका एक प्रदर्शनकारीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ। लन्डनमा लाखौं मानिसले ब्रेक्जिटबारे निर्णय गर्न जनमत संग्रहको माग गर्दै शनिबार प्रदर्शन गरे पनि बेलायतको प्रमुख दुईवटा दलले भने यस्तो मागलाई समर्थन नगरेको बताइएको छ।

‘जनताले मतदान नै नगरेको विषयमा राजनीतिक दलले आफू खुसी निर्णय गरेर भद्रगोल बनाएको बेलायती नागरिकले बुझेतका छन्,’ जनमत संग्रह अभियानका प्रवक्तालाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.