मुस्ताङ, माघ ९ : हिमाल पारीको जिल्ला भनेर चिनिने मनाङ र मुस्ताङमा बाक्लो हिउँ परेका कारण जनजीवन कष्टकर बनेकाे छन् । साथै सुदुरपश्चिमका अधिकांश हिमाली जिल्लाहरुमा चिसो र हिमपातका कारण जीवनयापनमा प्रभावित पारेकाे छ ।
हिजोबाट भएको वर्षा, हिमपातले बढेको चिसोका कारण सर्वसाधारणको दैनिकी, हवाई तथा सडक यातायात सेवामासमेत समस्या भएको छ । जोमसोम, मुक्तिनाथ, लोमान्थाङ, लेतेलगायत मुस्ताङका सबै क्षेत्रमा हिउँ परेको छ ।
हिमाली जिल्लाका सडकमा एक फिटसम्म बाक्लो हिउँ परेपछि यातायात सेवा अवरुद्ध भएको छ । हिउँ जमेका कारण जोमसोम–मुक्तिनाथ र जोमसोम–लोमान्थाङ सडकमा यातायात सेवा बन्द भएको छ । तर, बेनी–जोमसोम सडकमा भने यातायात संचालनमा रहेका छन् ।
चिसोले गर्दा घर बाहिर निस्कन सकिएको छैन यस क्षेत्रका मानिस घर भित्रै आगो तापेर बसेका छन् । हिमपातसँगै हल्का वर्षा भएकाले चौपायाहरु चरनमा जान सकेका छैनन् । यस स्थानका पर्यटकीय स्थलहरु सुनसान देखिएका छन् । हिमपात, हुरी र खराब मौसमका कारण जोमसोम–पोखरा हवाई उडान पनि अवरुद्ध भएको छ ।
यहाँका सरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति पनि न्यून छ । सडक, पुल, भवन, सिँचाइलगायत विकास निर्माणका काम पनि चिसोका कारण रोकिएको छ । यस क्षेत्रका स्थानीय किसानहरु भने वर्षा र हिमपातले सिँचाइ हुने र बालिनाली सप्रिने भन्दै हर्षित भएका छन् ।