फिलिपिन्समा पनि वर्षकै शक्तिशाली आँधी, ४० लाख मानिस जाेखिममा

रिपोर्ट नेपाल | 2018 Sep 15 | 12:22 pm 1892

काठमाडौं, भदाै ३० : वर्षकै शक्तिशाली ‘टाइफुन म्याङ्कुट’ नामक अाँधीले फिलिपिन्सको उत्तरी तटीय क्षेत्रमा विध्वंस मच्चाउन शुरु गरेको छ। गए राति नै लुजोन द्वीपमा आँधीका कारण त्यो क्षेत्रमा विजुली आपूर्ति बन्द भएको छ।

२०० किलोमिटर प्रतिघन्टाको वेगमा अघि बढिरहेको शक्तिशाली टाइफुन म्याङ्कुटको मार्गमा ४० लाखभन्दा बढी मानिसहरू रहेका छन्। अधिकारीहरूले ३३० किलोमिटर व्यास भएको सो आँधीले कमजोर संरचनाहरूमा निकै ठूलो क्षति पुर्याउने चेतावनी दिएका छन्।

म्याङ्कुट आँधी

उनीहरूले आँधीका कारण ६ मिटरसम्म अग्लो छाल बन्न सक्ने र ठूलो वर्षा हुन सक्ने बताएका छन्। हजारौँ मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ भने कागायान, उत्तरी इसाबेला, अपायाओ र आब्रा प्रान्तहरूमा दोस्रो उच्च तहको सतर्कता घोषणा गरिएको छ।

शक्तिशाली आँधी म्याङ्कुट फिलिपिन्सको उत्तरपूर्वी बगाओमा शनिवार विहान १ बजेर ४० मिनेटमा प्रवेश गरेको बताइन्छ।स्थानीय भाषामा ‘ओमपोङ’ नाम दिइएको सो आँधी ३५ किलोमिटर प्रतिघन्टाको वेगमा उत्तर पश्चिमतर्फ यात्रा गरिरहेको छ। आगामी आइतवार दिउँसोसम्ममा हङ्कङ् पुग्ने बताइएको छ। बीबीसीबाट

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.