धनकुटा, मंसिर १९ :पाँच महिनाको अवधिमा टिपर दुर्घटनामा परी प्रदेश १ मा पाँचजनाको मृत्यु भएपछि प्रदेश १ का सडकमा दैनिक चार घण्टा टिपर कुदाउन रोक लगाइने भएको छ।
टिपरका कारण सडकमा दुर्घटनाको जोखिम बढेको भन्दै ट्राफिक प्रहरीले प्रदेश १ का सबै सडकमा दैनिक चार घण्टा टिपर सञ्चालनमा प्रतिबन्ध लगाउने भएको हो। प्रदेश १ ट्राफिक प्रहरी कार्यालयको अनुरोधमा टिपरलाई मुख्य तथा सहायक राजमार्ग र भित्रि सडकखण्डमा बिहान र दिउँसो दुई/दुई घण्टा सञ्चालनमा रोक लगाउने तयारी भएको धनकुटाका ट्राफिक प्रहरी सुरेन्द्र खड्काले बताए।
सडकमा ट्राफिक व्यवस्थापनमा चुनौती थपिएपछि आगामी पुस १ गतेबाट दैनिक चार घण्टा टिपरमाथि रोक लगाउन लागिएको हो। प्रदेश १ का ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक रवीकुमार पौडेलले सबै जिल्ला सुरक्षा समितिको निर्णयअनुसार टिपर सञ्चालनमा रोक लगाउने तयारी भएको हो।
अहिले यो विषयको बारेमा चालकलाई जानकारी दिने काम भइरहेको पौडेलको भनाइ छ। उनका अनुसार बिहान ९ बजेदेखि ११ र दिउँसो ३ बजेदेखि ५ बजेसम्म मुख्य राजमार्ग, सहायक मार्गमा टिपर चलाउन रोक लगाइने छ। ‘पिक आवरमा टिपर सञ्चालन गर्न नदिने विषयमा प्रदेशका १४ वटै जिल्ला सुरक्षा समितिले निर्णय भइसकेको छ’, एसपी पौडेलले भने ‘ट्राफिक प्रहरीले निर्णय कार्यान्वय गर्ने हो।’ तत्काललाई मुख्य राजमार्ग र सहायक राजमार्गमा टिपरलाई रोक लगाइएको र यो नियम प्रदेश १ का १४ जिल्लामै लागू हुने पौडेलले बताए।
रोक लगाएको समयमा टिपर चलाएको पाइएमा ट्राफिक नियम उल्लघंनसम्बन्धी कारबाही गरिने प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए। ट्राफिक प्रहरीका अनुसार साउन यता प्रदेश १ मा टिपरका कारण १२ वटा दुर्घटना भएका छन्। दुर्घटनामा परेर पाँच जनाको मृत्यु र ३५ घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ।