दुहबीको जनजीवन सामान्य हुँदै

रिपोर्ट नेपाल | 2018 Nov 23 | 09:38 am 1762

इनरुवा, मंसिर ७: सुनसरीको दुहबी नगरपालिका–९ छाताबेलीका फिदा हुसेनको हत्याको विषयलाई लिएर तनावग्रस्त दुहबीको जनजीवन सामान्य हुँदै गएको छ।

विरोध प्रर्दशनरत पक्ष र स्थानीय प्रशासनबीच बिहीबार सहमति भएपछि आन्दोलरत पक्षले आफ्नो सम्पूर्ण आन्दोलनको कार्यक्रम फिर्ता लिएकाले त्यहाँको जनजीवन सामान्य हुँदै गएको हो। बुधबार दिउँसोबाटै सहमतिको प्रयास थालिएकामा बिहीबार सहमति जुटेसँगै दुई दिनदेखि अवरुद्ध कोशी राजमार्गको इटहरी–विराटनगर सडकखण्ड सञ्चालनमा आएको छ।

गृहमन्त्रीको राजीनामाको मुख्य मागमा अडान लिएका मृतक परिवार पक्षधर अन्ततः सो मुद्दाबाट पछि हटेपछि शव बुझ्ने सहमति कायम भएको नेपाली काङ्ग्रेसका जिल्ला सचिव केदार भण्डारीले जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेती, प्रहरी प्रमुख राजन अधिकारीका साथै आन्दोलन परिचालन समितिका संयोजक बेद गच्छदार र मृतकका दाजु मेहदी हुसेनसहितका मुस्लिम अगुवा र दलीय प्रतिनिधिबीचको छलफल निष्कर्षमा पुगेपछि दुई दिनदेखि सडकमा राखिएको हुसेनको शव परीक्षणका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको स्थानीय पत्रकार अकवर अलिले जानकारी दिए।

ठूलो सङ्ख्यामा सडकमा उत्रिएका मुस्लिम समुदायसहितको भीडलाई मृतकका दाजु हुसेन र प्रजिअ उप्रेतीले बिहीबार सहमतिका बुँदाबारे जानकारी गराउँदै आन्दोलनका कार्यक्रम फिर्ता भएको घोषणा गरेपछि त्यो क्षेत्रको अवस्था सामान्य बन्दै गएको हो।

सहमतिमा मृतकलाई शहीद घोषणा, क्षतिपूर्ति, मृतकको स्थानमा छोरालाई जागिर र हत्यारा छिटो पत्ता लगाउनेजस्ता बुँदा समावेश गरिएको वार्ता समितिका सदस्य तथा प्रतिनिधिसभाका सांसद सीताराम मेहताले बताए।

हुसेन हत्याको विरोधमा बिहीबार सुनसरीका दुहबीका अलावा विभिन्न ठाउँमा समेत विरोध प्रर्दशन भएको थियो। हत्याको विरोध गर्दै मृतकका आफन्त, स्थानीयवासीलगायतले गरेको प्रर्दशनका कारण कोशी राजमार्गको इटहरी दुहबी खण्डमा दुई दिनदेखि यातयात अवरुद्ध भएको थियो भने कलकारखाना, बजार तथा शिक्षण संस्थासमेत ठप्प भएका थिए।

मृतक हुसेनको आज शुक्रबार मुस्लिम जातीय परम्पराअनुसार अन्तिम संस्कार गरिने मृतकका दाजु हुसेनले बताए। बुधबार बिहान श्रीमतीसँगै घुम्न निस्केका बेला हुसेनलाई अज्ञात व्यक्तिको समूहले गोली हानी हत्या गरेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.