उपत्यकामा सिसिटिभीले गर्यो २० हजार चालकको कारबाही

| 2018 Nov 15 | 11:13 am 1551

काठमाडौँ, कात्तिक २९ :  महानगरीय ट्राफिक प्रहरी महाशाखाले पछिल्लो समय जथाभावी सवारीसाधन चलाउने चालकलाई सिसिटिभीमार्फत अनुगमन गरी कारबाही बढाएको छ ।

विभिन्न ठाउँहरुमा अवैधानीक रुपमा सवारी चालकहरुले ट्राफिक प्रहरीको आँखा छलेर निषेधित क्षेत्रमा सवारीसाधन चलाउने गरेको पाईन्छ । त्यस्ता ठाउँहरुमा अव सिसिटिभीमार्फत अनुगमन गर्ने भएको छ ।

२०७३ देखि सिसिटिभीमार्फत सवारी चालकलाई कारबाही थालेको महाशाखाले हालसम्म २० हजार भन्दा बढी व्यक्तिलाई कारबाही गरिएको महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले जानकारी दिए । २०७३/७४ मा १३ हजार २ सय २७, आव २०७४/७५ मा दुई हजार ७ सय १६ र आव २०७५/७६ मा दुई हजार ७ सय ५२ जनालाई कारबाही भएको छ । पछिल्लो समय सिसिटिभीमार्फत सवारी साधन कारबाहीलाई तीव्रता दिएको पन्तले बताए ।

उपत्यकाका सबै चोक र सडकमा ट्राफिक जनशक्तिको अभाव छ, त्यसैले महाशाखाले सिसिटिभीमार्फत सवारी नियम उल्लंघन गर्ने सवारी चालकलाई कारबाही सङ्ख्या बढाएको पनि जानकारी गराए ।

निमार्ण भएका साँघुरा सडक र अत्याधिक सवारीसाधन भएकाले लेन मिच्ने, तीब्र गतिमा सवारी चलाउने, एकतर्फी बाटोमा सवारी चलाउने, नो टर्न लेखेको ठाँउबाट टर्न लिनेलगायतका चालकलाई कारबाही गरिएको महाशाखाले जनाएको छ । महाशाखाले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा रहेका ४ सय ६० क्यामराबाट उपत्यकाको ट्राफिक गतिविधिको बारेमा हेर्दे आएको छ ।

महाशाखाले सवारी नियम उल्लंघन गर्ने एक हजार ३ सय २९ सवारी चालकलाई घरैमा चिठी पठाएर कारबाही गरेको छ । २०७४ मा तत्कालीन प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनाल महाशाखा प्रमुख भएको समयमा महाशाखाले सवारीसाधन उल्लंघन गर्ने चालकलाई घरमा चिठी पठाएर कारबाही गर्ने अभियान शुरु गरेको थियो । २०७४/७५ मा ५ सय ५१ र २०७५/७६ को हालसम्म ७ सय ७८ जनालाई कारवाही गरिएको थियो ।

महाशाखाले सवारीसाधनमार्फत एक हजार ९ सय ५८ सवारी चालकलाई कारबाही गरेको छ । आव २०७४/७५ मा एक हजार २ सय ५३ र आव २०७५÷७६ मा ७ सय ५ सवारी चालकलाई कारबाही गरेको छ ।

महाशाखाका प्रमुख पन्त सवारी नियम उल्लंघन गर्ने सवारी चालकलाई ५०० देखि एक हजारसम्म जरिवना र जनचेतना दिँदै आएको बताए । महाशाखाले सिसिटीभिका सट्टा बडीवान क्यामरा, ग्रोप्रो क्यामरामार्फत कारबाही गर्दै आएको छ ।

ट्राफिक उभिएर गर्ने कारवाही, सामाजिक सञ्जालमार्फत हेरेर गरिने कारवाही, यात्रुले खबर गरेर गरिने कारवाहीसमेत रहेका छन् । महाशाखाले सिसीटिभीमार्फत उपत्यकामा हुने कतिपय सवारी दुर्घटनाको अनुसन्धान गर्दै आइरहेको छ ।

यातायात व्यवस्था विभागका अनुसार हाल नेपालभर कुल ३२ लाख सवारीसाधन सञ्चालनमा रहेका र जसमध्ये आठ लाख सवारीसाधन काठमाडौँ उपत्यकामा मात्र सञ्चालनमा रहेका जानकारी दिए। उपत्यकाको साँघुरा सडक र सवारीसाधन धेरै भएका कारण ट्राफिक व्यवस्थापन दिनकादिन समस्यामय बन्दै गएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.