हवाई कारवाहीमा ४ तालिबान कमाण्डरसहित ३० मारिए

रिपोर्ट नेपाल | 2018 Oct 12 | 03:38 pm 1743

अफगानिस्तान, असोज २६  : गत हप्ता अफगानिस्तानको फराह प्रान्तको विभिन्न भागमा विदेशी सैन्य बलले गरेको हवाई कारवाहीमा परी चार तालिबान कमाण्डर मारिएका छन् ।

फराह प्रान्तका गभर्नर अब्दुल बासिर सलाङ्गीले खाक सफिद जिल्लामा भएको हवाई कारवाहीमा परी तालिबान कमाण्डर मुल्लाह बारी जानको मृत्यु भएको पुष्टि गरेका हुन् ।

मुल्लाहले कम्तीमा तीन सय हत्या र आक्रमण गरेका टोलो समाचार समितिले जानकारी दिएको छ । मुल्लाहबाहेक मुल्लाह हान्जाला, मुल्लाह मुख्लिस् र मुल्लाह अब्दुल सलिम नाम गरेका तालिबान कमाण्डरहरु मारिएका सलाङ्गीले बताए ।

गत हप्ता फराह प्रान्तको विभिन्न भागमा भएको हवाई कारवाहीमा परी कम्तीमा ३० आतङ्ककारी मारिएका पनि उनले थप जानकारी दिए। तर तालिबान आतङ्ककारी समूहले भने आफ्ना सदस्य मारिएको समाचारको खण्डन गरेका छन् । तालिबान सङ्गठनले आफ्ना सदस्य नमारिएको बताएको छ ।

साथै कान्दाहार प्रान्तको मरिफ जिल्लामा भएको एक हवाई कारवाहीका क्रममा चारजना सर्वसाधारणको पनि मृत्यु भएको बताइएको छ । यस आक्रमणका क्रममा अन्य आठ घाइते भएका पनि बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.