हिमाल बचाउन अन्तर्राष्ट्रिय समुदायसँग प्रधानमन्त्री प्रचण्डको आह्वान (भिडियोसहित)

| 2023 Dec 03 | 07:04 am 1001

दुबई, मङ्सिर १६ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाल बचाउनका लागि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्नुभएको छ।

प्रधानमन्त्री प्रचण्डले मानव जातिलाई जोगाउनका लागि हिमाल जोगाउनुपर्ने भएकाले त्यसको बचाऔँ अभियानमा अन्तर्राष्ट्रिय समुदाय नै एक भएर लाग्नुपर्ने बताउनुभएको हो।

शनिबार दुबईमा आयोजित जलवायु परिवर्तनसम्बन्धि संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८) मा उच्चस्तरीय राउण्डटेबल बैठकको अध्यक्षता गर्दै उहाँले हिमाल बचाउनका लागि अन्तर्राष्ट्रिय समुदायलाई अपिल गर्नुभयो। प्रधानमन्त्री प्रचण्डले हिमाली मुलुक र त्यहाँका बस्तीको पीडा बुझ्न अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुभयो।

उहाँले भन्नुभयो, ‘‘हाम्रा हिमाल बचाउनुहोस्, आफूलाई बचाउनुहोस्। हामीलाई बचाउन हाम्रो हिमालहरू बचाऔँ। हिमाली क्षेत्रका बासिन्दाको पीडा बुझ्न, सम्भावित समाधान खोज्न र समस्या बाहिर ल्याउन हिमाल र जलवायु परिवर्तन सम्बन्धी संवादको थालनी गर्न पनि हिमाली मुलुक नेपालको तर्फबाट दृढतापूर्वक सुझाव दिन चाहन्छु।’’

प्रधानमन्त्री प्रचण्डले विश्वका नेताहरूले हिमाल र हिमाली जनताको दिगो भविष्यको रक्षा गर्न एकसाथ हिँड्नुपर्ने आवश्यकता पनि औँल्याउनु भयो। उहाँले नेपालले जलवायु परिवर्तनका कारण परेको असर न्यूनीकरणका लागि विगतमा गरिएका गरिएका निर्णय तथा प्रतिवद्धताहरु कार्यान्वयन गरेर अघि बढ्नुपर्ने स्पष्ट पार्नुभयो।

(गोरखापत्रबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.