संघीय संसद् एकले अर्कालाई गाली गर्ने थलोमा परिणत भयो : सांसद भण्डारी

| 2023 Nov 18 | 07:28 am 729

रुपन्देही, मङ्सिर २।सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले सङ्घीय संसद् एकले अर्कोलाई गाली गर्ने थलोमा परिणत भएको टिप्पणी गरेका छन् ।

शुक्रबारबाट रुपन्देहीमा सुरु भएको तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवं पर्यटन प्रवर्द्धन महोत्सव–२०८० को उद्घाटन समारोहमा बोल्दै उनले सङ्घीय संसद् गाली गर्ने ठाउँमा परिणत हुँदा ऐन, कानुन बनाउने कामले पूर्णता पाउन नसकेको तर्क गरे।

सांसद भण्डारीले मुलुकमा लुटतन्त्र र अराजकता बढ्दै गएको उल्लेख गर्दै यसलाई धेरै दिन रहन नदिने चेतावनीसमेत दिए। जनतालाई गरिबी बनाएर, लिलामीमा राखेर बिचको ठुलो घर सुरक्षित हुनै नसक्ने उल्लेख गर्दै उनले विगतमा जे भए पनि अब अराजकता मुलुकमा धेरै दिन रहन नदिने बताए। सांसद भण्डारीले स्थानीय तह राम्रो भए पनि काम गर्नका लागि बजेटको अभाव रहेको पनि दोहोर्‍याए।

उनले भने, ‘‘हामीले बनाएको स्थानीय तह एकदम राम्रो छ। कहिले को आउँछ, कहिले को आउँछ ? तर यो जनताको सबैभन्दा नजिकको छ। तर यससँग बजेटको कमी छ। हामीले अधिकार सम्पन्न भनेका छौँ। तर ऐन, कानुन पूरा बनाउन सकेका छैनौँ। सदनमा झगडा हुने हो। एकले अर्कालाई गाली गर्ने मात्रै हो। गुनासो मात्रै हो। मुलुक कसरी बनाउने भन्ने कुरा एकदम गाह्रो छ।’’

सांसद भण्डारीले व्यापारी, उद्योगपति र किसान मुलुकमा सबैभन्दा बढी मारमा परेकाले उनीहरूलाई साथ दिएर अघि बढ्नुको विकल्प नरहेको बताए।

( न्युज अफ नेपालबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.