बेंसीसहर, १० चैत्र : लमजुङमा एक किरियापुत्री एसईई परीक्षामा सहभागी भएका छन्। बुबाको किरिया बसेका बेंसीसहर नगरपालिका-७ का दरेश पौडेल परीक्षामा सहभागी भएका हुन्। खाली खुट्टा, सेतो कपडामा पौडेल ६ दिनदेखि बुवा टोखबहादुरको किरियामा छन्।
चितवनको रत्ननगर नगरपालिका टाँडीस्थित श्रीराम बैद्धिक संस्कृत गुरुकुलमा अध्ययनरत पौडेल बुबाको किरिया गर्न लमजुङ आएका थिए। एसईई परीक्षा समितिको विशेष बैठकले उनको परीक्षा केन्द्र बेंसीसहर सारिएको थियो। उनलाई बेंसीसहरस्थित जनविकास मावि केन्द्रमा परीक्षा दिने व्यवस्था मिलाइएको हो।
जिल्लामा संस्कृतका परीक्षार्थी नभएकाले चितवनबाटै प्रश्नपत्र झिकाइएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नारायण रेग्मीले बताए। बुवाको जुठो बारेको हुनाले उनका लागि छुट्टै कोठा उपलब्ध गराइएको केन्द्र प्रमुख रत्नमान श्रेष्ठले बताए।