कहिले अन्त्य हुन्छ धुलोको साम्राज्य ?

| 2019 Mar 18 | 08:11 am 2391

काठमाडौं, चैत्र ३ : कलंकीदेखि नागढुंगा बाटो भएर जाने नेताहरू फर्कंदा गाडी छाडेर प्लेनबाट फर्कन्छन ! कारण हो, अत्यासलाग्दो धुलो र क्षतिग्रस्त बाटो,’ सतुंगलमा भेटिएका एक स्थानीयले नेताहरूप्रति व्यंग्य गर्दै भने ।

हुन पनि हो, दैनिक हजारौं सवारीसाधन गुड्ने र लाखौं सर्वसाधारण आवतजावत गर्ने कलंकीदेखि नागढुंगासम्मको झन्डै १० किमि सडक विगत चार वर्षदेखि निर्माणको नाममा क्षतिग्रस्त पारिँदै आएको छ । त्यो सडक भएर हिँड्ने जोसुकैले पनि हावा मस्तले चलेको उजाड मरुभूमिमा हिँड्नुपरे जस्तो उकुसमुकुसको कष्टकर अनुभूति गर्ने गरेका छन् । ‘चार वर्षदेखि उजाड मरुभूमिमा हिँड्नुपरेको जस्तै भइरहेको छ,’ गुर्जुधारामा भेटिएका एक व्यापारीले भने ।

‘कालो सिसा लगााएर गाडीमा हुइँकिने नेताको मोतिबिन्दु लागेका आँखा खुल्ने गरी देखाइदिनुस्, लापरबाहीको पनि हद हुन्छ नि !’ अझ आक्रोशित हुँदै उनले थपे ।

सडक विस्तार सुरु भएको वर्षौं बित्यो । तर, सडक विस्तारमा देखिएको सुस्तताले सर्वसाधारणहरू वर्षौंदेखि धुलोको समस्या भोग्न बाध्य छन् । धुलोका कारण यस क्षेत्रका स्थानीयमा श्वासप्रश्वासलगाायतका विभिन्न स्वास्थ्य समस्या देखिएका छन् ।

त्यति मात्र होइन, उनीहरू वर्षौंदेखि विभिन्न सास्ती खेप्दै आएका छन् । यसरी विभिन्न सास्ती र समस्या भोग्दै आएका सर्वसाधारणले धुलोका कारण हुने स्वास्थ्यजन्य रोगबाट छिटो मुक्त गराइदिन सम्बन्धित निकायसँग माग गरेको पनि वर्षौं भइसकेको छ । तर पनि समस्याको निकास अहिलेसम्म निस्कन सकेको छैन ।

‘हामीले यस सम्बन्धमा पटक–पटक सम्बन्धित निकायमा ध्यानाकर्षण गरायौं, स्थानीयले भने, ‘तर, यसको सुनुवाइ अहिलेसम्म हुन सकेको छैन ।’ नागढुंगा चेकपोस्ट हुँदै दैनिक हजारौं मालवाहक र यात्रुवाहक सवारीसाधन ओहोरदोहोर गर्ने गर्छन् । तर, यो सडकको हालत भने विगत चार वर्षदेखि उस्तै भद्रगोल र अस्तव्यस्त छन् ।

तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको पालामा सुरुवात भएको बाटो विस्तारले अझै पूर्णता पाउन सकेको छैन । राजधानीवासीका जनचासोलाई समेट्ने क्रममा राजधानीले यसपटक सरकारी निकायको चरम लापरबाहीका कारण बन्न नसकेको कलंकीदेखि नागढुंगासम्मको १० किलोमिटर सडकमा निगरानी गर्दा सडकको अवस्था भद्रगोल, दयनीय र क्षतविक्षत् रहेको पाइयो ।

कलंकी–नागढुंगा सडकखण्डको करिब तीन किलोमिटरबाहेक अधिकांश सडक जीर्ण अवस्थामो छ । सडक विभागले ७० प्रतिशत काम सम्पन्न भएको दाबी गरे पनि अधिकांश सडक क्षतिग्रस्त अवस्थामा देखिएको छ । विभागका महानिर्देशक रवीन्द्रनाथ श्रेष्ठले चैतभित्र एक तहको कालोपत्रे सम्पन्न गर्ने र धुलो कम गर्ने योजना रहेको बताए । सोही योजनानुसार तीव्र रूपमा काम भइरहेको उनको दाबी छ ।

चन्द्रागिरि नगरपालिकाअन्तर्गत पर्ने सो सडकखण्डमा निर्माणाधीन सडकलाई दुई महिनाभित्र सम्पन्न हुने गरी विभिन्न निकायसँग समन्वय भइरहेको चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरीले बताए । ‘ठेकेदारको लापरबाही र जग्गा विवादलगायतका कारणले सडक विस्तारमा ढिलाइ भएको छ,’ उनले भने, ‘स्थानीयले वर्षौंदेखि भोग्दै आएको पीडा र सास्तीको न्यूनीकरणका लागि नगरपालिकाले विशेष पहल प्रारम्भ गरेको छ ।’ (आजको राजधानी दैनिकमा प्रकाशित)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.