म्याग्दी, फागुन २५ : नेपाली कांग्रेसका तीन नेताहरुले बेनीमा रहेको तातोपानी कुण्डको अवलोकणका साथै स्नान गरेका छन् । काँग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रवक्ता विश्वप्रकाश शर्मासहितका नेताहरुले बेनी नगरपालिका ४ मा रहेको प्राकृतिक तातोपानी कुण्डको अवलोकन गरेका हुन् । उनीहरु हेलिकोप्टर चढेर आज शनिबार तातोपानी आएका थिए ।
तातोपानीमा स्नान गरेसँगै सभापति देउवाले तातोपानी कुण्डको पानीले विभिन्न रोग निको हुने आफूले सुनेको प्रतिक्रिया दिएका थिए।
तातोपानी कुण्डको पर्यटकीय सम्भावना उच्च रहेको बताउँदै सभापति देउवाले यो तातोपानी कुण्डको व्यापक प्रचार प्रसारको आवश्यकता रहेको बताएका थिए ।
अर्का नेता पौडेलले तातोपानी कुण्डको बारेमा धेरै चर्चा भएको सुनेर कस्तो रहेछ भनेर अनुभवका लागि स्नान गरेको बताए । उनीहरुले म्याग्दी नदीको किनारमा रहेको तातोपानी कुण्डको विकासमा सहयोग गर्ने प्रतिवद्धता पनि जनाए।
जमिनभित्रबाट बिरेनुनको गन्धमा ५० डिग्री तापक्रममा निस्कने तातोपानी कुण्डमा स्नान गरेमा चोट पटक लागेको, ग्यास्ट्रिक गानो गोला, बज्रिएको, सुन्निएको लगायतका स्वास्थ्य समस्या निको हुने जनविश्वास छ ।
अन्य कार्यक्रममा उस्तै परे बोलि बाराबार गरेका काँग्रेसका सभापति र बरिष्ठ नेता पौडेलले मञ्चन गरेर भएपनि कार्यकर्तामाझ नाटक प्रस्तुत गरेको अनुभव गरिएको थियो ।