चितवन, फागुन १७ : परम्परागत मूल्य र मान्यतालाई मान्ने हो भने आफ्नो बाबुको काज किरिया गर्नका लागि छोरा नै चााहिन्छ भन्ने धारणा राख्ने गरेको पाइन्छ तर त्यो प्रवृत्तिलाई भरतपुर महानगरपालिका–११ बसेनीकी १५ वर्षकी आर्मिन्ता देवकोटाले बाबुको किरिया बसेर त्यो मान्यतालाई तोडेकी छन्।
परम्परालाई तोड्दै उनी हिन्दू संस्कारअनुसार बुबाको किरिया बसेकी छन् । आर्मिन्ताले हिन्दू संस्कार अनुसारका सबै कर्म गरेर बाबुको किरिया गरिरहेको मृतकका काका मानबहादुर देवकोटाले जानकारी दिए ।
बाबु लक्ष्मण देवकोटाको यहि ९ गते ३९ वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको थियो । गोरखाको पालुङटार घर भई शिक्षक पेशामा संलग्न बाबु लक्ष्मणको निधन भएपछि ठूली छोरी आर्मिन्ता किरियामा बसेकी हुन् । कान्छी छोरी नौ बर्षकी छन् ।
बाबुले आफूलाई अनेक दुःख, समस्या भोगेर पनि स्याहार गरेकोप्रति कृतज्ञता जनाउन पनि किरिया बसेको उनी बताउँछन् । बुबाले आफू नमर्दै तिमी मेरो छोरा हो, म मरे भने पनि तिमी किरिया बस्नु भन्ने गरेको आर्मिताले बताए ।
१५ वर्षीया किशोरीले बाबुको किरिया गरेपछि स्थानीयवासीले पनि आर्मिन्ताको साहसको प्रशंसा गरेका छन् । उनीहरुले आर्मिन्ताको अभियानले महिला पनि पुरुषसरह जस्तोसुकै परिस्थितिसँग पनि जुध्न सक्छन् भन्ने उदाहरण पेस गरेको बताएका छन् ।