लमही, फागुन ५ : पुजारीले मन्दिरमा उमेर नपुगी विवाह गर्न आएका जोडीको विवाह रोक्दै आएका छन् । दाङको तुलसीपुर उपमहानगरपालिकालाई बालमैत्री बनाउने योजनाअनुसार बालविवाह न्यूनीकरण गर्न मन्दिरका पुजारीलाई अभिमुखीकरण तालीम प्रदान गरेपछि पुजारी नै बालविवाह रोक्न सक्रिय बनेका हुन् ।
तुलसीपुर क्षेत्रमा सबैभन्दा बढी विवाह हुने त्रिशिद्धेश्वरी मन्दिरबाट चालू आर्थिक वर्षको अहिलेसम्म २८ बालविवाह रोकिएको पुजारी बुद्धिराम भट्टराईले बताउनुभयो । उहाँका अनुसार विवाहको सिजन हुने असोजमा १८, मङ्सिरमा छ र माघमा चार गरी २८ बालविवाह रोकिएको हो ।
मन्दिरका पुजारी भट्टराईका अनुसार अहिले मन्दिरमा विवाह गर्न आउने जोडीको नागरिकता वा शैक्षिक योग्यताको प्रमाणपत्रमा राखिएको जन्ममिति हेरेर मात्रै विवाह गर्ने गरिन्छ । “नगरपालिकाले हामीलाई अभिमुखीकरण तालीम दिएपछि बालविवाहलाई रोक्दै आएका छौँ”, उनले भने, “हामीले विवाह गर्ने जोडी आएपछि दुवै जनाको अनिवार्य नागरिकता वा शैक्षिक योग्यताको प्रमाणपत्रमा भएको जन्ममिति हेर्ने गरेका छौँ ।”
बीस वर्ष पूरा नगरेका जोडीको विवाह नगराउने गरेको उनको भनाइ छ । “हामीले २० वर्ष पूरा नगरेका जोडीलाई अहिले लगन छैन, भनेर फर्काउने गरेका छौँ”, उनले भने, “उनीहरुको लगन २० वर्ष पूरा भएपछि मात्रै छ भन्ने गरेका छौँ ।” कतिपय जोडी तथा अभिभावकले विवाह गराइदिन दबाबसमेत दिने गरे पनि आफूहरुले उमेर नपुगेकालाई लगन नभएको भन्दै विवाह रोक्दै आएको उनको भनाइ छ ।
तुलसीपुर उपमहानगरपालिकालाई बालमैत्री बनाउने उद्देश्यले बालविवाह न्यूनीकरण गर्न मन्दिरका पुजारीलाई प्रत्येक वर्षमा दुई पटक अभिमुखीकरण तालीम दिने गरिएको तुलसीपुर उपमहानगर स्तरीय बाल संरक्षण समितिका संयोजक नवराज लामिछानेले बताए।
तुलसीपुर उपमहानगरपालिका र नवजागरण महिला तथा बालबालिका केन्द्र (न्यूसिपिसी)को सहकार्यमा नियमित अनुगमन र अभिमुखीकरण तालीमले गर्दा अहिले पुजारीले पनि बालविवाह रोक्दै आएका छन् ।
मन्दिरमा बालविवाह रोकेपनि गाउँघरमै बालविवाह गर्नेहरुको सङ्ख्यामा भने कमी आउन नसकेको न्यूसिपिसीका कार्यक्रम संयोजक भीम खत्रीले बताए।