काठमाडौं, पुस ९ : अवैध रुपमा संरक्षित वन्यजन्तु सालकको खपटा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गाउँपालिका–४ का २४ वर्षीय विकाश बुढाथोकी रहेका छन् । टोखा नगरपालिका–४ साईवावा चोकबाट उनलाई दुर्लभ वन्यजन्तु सालकको खपटा १ थान सहित प्रहरीले पक्राउ गरेको छ।
टोखा नगरपालिकामा केही व्यक्तिले दुर्लभ वन्यजन्तु सालकको खपटा ओसार पसार गर्दैछन् भन्ने महानगरीय प्रहरी परिसर काठमाडौंमा सूचना प्राप्त हुनासाथ प्रहरी टोलीले शंकास्पद अवस्थामा हिँडिरहेका बुढाथोकीलाई खानतलासी गर्दा झोलाभित्र प्लाष्टिकले वेरिएको अवस्थामा उक्त खपटा सहित फेला पारी पक्राउ गरेको हो । बुढाथोकीलाई प्रहरीले आवश्यक अनुसन्धान पश्चात् कारवाहीको लागि जिल्ला वन कार्यालय हात्तिसार पठाएको छ ।