सुर्खेत, कात्तिक २४ : तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीका नागरिक ‘जन्मँदा’ र ‘मर्दा’ अावश्यक संस्कारका लागि प्रतिघटना २० किलोका दरले चामल दिने घोषणा गर्दा निकै आलोचना भएकाे थियाे ।
प्रधानमन्त्री दाहालको घोषणाले केही समय कर्णालीमा तर्कवितर्क, वादविवाद, चर्चापरिचर्चा, विचारविमर्श र टिकाटिप्पणीले व्यापक स्थान लियो ।
आफूलाई बुझ्ने ठान्नेमध्येका थोरैले सरकारको सकारात्मक सम्बोधन भएको प्रतिक्रिया पनि दिए तर धेरैले कर्णालीवासीकाे जन्म र मृत्युलार्इ केवल २० किलो चामलसँग दाँजेर अपमान गरेको रोषपूर्ण अभिव्यक्ति प्रकट गरेका थिए ।
यद्यपि पछिल्लो समयमा तत्कालीन सरकारले सम्बोधन गरेको जन्म र मृत्यु संस्कारमा गरिँदै आएको चामल वितरण कार्यक्रम भने प्रभावकारी बन्दै गएको छ ।
सरकारले दिएको यो सेवाबाट गत आर्थिक वर्ष २०७४/७५ मा जुम्लाका ३१३ घरधुरीले लाभ लिएका छन् ।
लाभ : चामलसँगै ज्याला पनि
लाभ लिनेमा २७२ जन्म र ४१ मृत्यु हुनेका घरधुरी रहेको नेपाल खाद्य संस्थान शाखा कार्यालय जुम्लाका प्रमुख घनश्याम अर्यालले जानकारी दिए । “प्रतिसेवाग्रही २० किलोका दरले ६२ क्विन्टल ६० किलो चामल वितरण गरिएको छ”, प्रमुख अर्यालले भने, “वितरित चामलको हिसाब गर्दा नगद रु २ लाख ५९ हजार ५६ हुन आउँछ ।”
जुम्लाको चन्दननाथ नगरपालिकाबाहेक अन्य सात स्थानीय तहका नागरिकलाई २० किलो चामलका साथै ज्याला पनि प्रदान गरिएको उनले बताए ।
जन्म र मृत्यु दुवै घटनामा २० किलो चामल लिन आउने पातारासी, गुठीचौर र तातोपानी गाउँपालिकाका सेवाग्रहीलाई रु ५०० तथा तिला, हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकाका सेवाग्रहीलाई रु एक हजार ज्याला प्रदान गर्दै आएको कार्यालय प्रमुख अर्यालले जानकारी दिए ।
राहत
२० किलो चामल उपलब्ध हुँदा गरीब घरका मृतकका परिवारलाई केही हदसम्म भए पनि राहत भएको र जन्ममा सुत्केरी महिलाको खाद्य सुरक्षामा सहयोग पुगेको हिमा गाउँपालिका–१ बड्की जुम्लाका स्थानीय शिक्षक खम्बा शाहीले बताए ।
“यस कार्यक्रमले निश्चित सम्पन्न वर्गलाई मतलव नहोला तर विपन्न र गरीबको पीडालाई सम्बोधन गरेको छ”, शिक्षक शाहीले भने, “बरु यसको परिमाण बढाएर कार्यक्रमलाई निरन्तरता दिनुपर्दछ ।”
नेपाल खाद्य संस्थान जुम्लाले ६ महिनाको अवधि राखेर जन्मको हकमा बच्चा अस्पताल जन्मेको जन्मको प्रतिवेदन तथा बच्चाको जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि, वडापालिकाको सिफारिश र मृत्यु हुनेको हकमा मृत्युदर्ता, वडापालिकाको सिफारिश र सेवा लिन आउने सेवाग्रहीको नागरिकताकाे अाधारमा चामल वितरण गर्दै अाएकाे छ ।