७ नं प्रदेशकाे प्रदेशसभा बैठकमा दुई विधेयक पारित

रिपोर्ट नेपाल | 2018 Jul 30 | 07:03 pm 4446

धनगढी,  साउन  १४ :  प्रदेश नं ७ को प्रदेशसभाले जिल्लासभा तथा जिल्ला समन्वय समितिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ र गाउँसभा र नगरसभाको कार्य सञ्ंचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ पारित गरेको छ ।

आज बसेको प्रदेशसभाको बैठकमा यी दुई विधेयक पारित गरिएको हो । गाउँसभा र नगरसभाको कार्य सञ्चालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ माथि आजको बैठकमा भएको छलफलमा प्रदेशसभाका सदस्य टेकबहादुर रैकाआउजी, बलदेव रेग्मी र अमरबहादुर साउद र जिल्लासभा तथा जिल्ला समन्वय समितिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ माथि भएको छलफलमा प्रदेशसभा सदस्य डिल्लीराज पन्त, रतन थापा, गोविन्दराज बोहरा र महेशदत्त जोशीले भाग लिएका थिए ।

यसअघि प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गरेका थिए । यी दुवै विधेयकमाथि प्रदेशसभाको विधायन तथा प्रदेश मामिला समितिमा दफावार छलफल भई तयार भएको प्रतिवेदन आइतबारको प्रदेशसभा बैठकमा प्रस्तुत गरिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.